
त्रिपुरासुन्दरी गाउँपालिकामा पुरानै अध्यक्ष दोहोरिने सम्भावना

फागुन ७, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाल सरकारले वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसंगै जिल्लाका दलहरु कसलाई उम्मेदवारी बनाउने भनेर आन्तरिक गृहकार्य थालेका छन् ।
जिल्लामा १२ वटा पालिका मध्ये केही पालिका प्रमुखहरु फेरीय पनि प्राय पालिका प्रमुखहरु दोहोरिने सम्भावना देखिएको छ ।
जसमध्ये जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पनि पुरानै अध्यक्ष दोहोरिने सम्भावना रहेको त्याँहीका एमालेका एक स्थानीय कार्यकर्ताले सिन्धुज्वालालाई बताए । ‘त्रिपुरासुन्दरीमा सबै हिसाबले उहाँनै (भुपेन्द्र श्रेष्ठ) उपयुक्त हुनुहुन्छ’, ति कार्यकर्ताले सिन्धुज्वालासंग भने ।
उनका अनुसार गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा ३ नम्बर वडाअध्यक्ष सुकदेव रिसाल र पुराना नेता मेघनाथ पौडेलको पनि आकांक्षा देखिएपनि त्रिपुरामा एमालेले पुन ः जित्नको लागि वर्तमान अध्यक्ष श्रेष्ठ नै लोकप्रिय मानिन्छन् ।
लामो समय शिक्षण पेशा गरेर राजनीति थालेका श्रेष्ठ तौथलीका बासिन्दा हुन् । ईमान्दार, वौद्विक क्षमता तथा सबै माझ भिज्न सक्ने नेता श्रेष्ठलाई जनताले पुनः एकपटकका लागि चाहेको तौथलीका एक स्थानीयको भनाई छ ।
पार्टीको निर्देशन आए एकपटक पुनः पालिका अध्यक्ष दोहोरिन चाहेको पालिका अध्यक्ष श्रेष्ठले बताए । ‘म विधि र पार्टीको निती अनुसार चल्छु, यदि पार्टी, कार्यकर्ता र जनताले पुनः मेरै आवश्यकता महसुस गरे भने उठ्ने योजनामा छु’, श्रेष्ठले भने । आफू अध्यक्षमा निर्वाचित भएपछि विकास निर्माण र जनताका अधिकांश कामहरु सम्पन्न गरेको उनले दावी गरे । विकास निर्माण संगै आगमी कार्यकालमा पालिकालाई अग्रगति, सबल र सक्षम बनाउन चाहेको बताउँदै अध्यक्ष श्रेष्ठले जनताकै भावना अनुसार चल्ने प्रतिवद्वता जनाए ।
बाह्रबिसे, सुनकोशी र लिसंखुपाखरको बीच भागमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका पिस्करका शहीद ईले र बिरे थामीको रहेको ऐतिहासिक थलोको रुपमा चित्रण गरिन्छ । उसो त एमालेका प्रभावशाली नेता अमृत कुमार बोहोरा पिस्कका बासीन्दा हुन् । यहाँ एमालेको राम्रै प्रभाव रहेको छ ।