‘मेलम्चीलाई हामी पुर्नजिवित गराउँदै छौं’–मेयर अर्याल

डम्बर अर्याल (मेयर) मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक

मेलम्ची नगरीको सुन्दर बजारलाई कुरुप बनाउने गरी गत असारमा आएको बाढीले बनाएको क्षतविक्षत अवस्था अझै बाँकी छ । सार्वजनिक भौतिक सम्पति देखि जनताका निजि सम्पति समेत गरेर अरबौंको नोक्सानी भएको छ । मेलम्ची बाढी अघि कस्तो थियो ? र पछि मेलम्ची नगरपालिकाले कसरी सो क्षेत्रलाई पुर्नजिवित गराउँदै छ भनेर नगरपालिकाका मेयर डम्बर अर्यालसंग सिन्धुज्वाला साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश– सम्पादक

१) यहाँको पाँच वर्षीय कार्यकाल सकिन लाग्यो यो पाँच वर्षको अवधिलाई कसरी लिनु हुन्छ संक्षिप्तमा बताईदिनुहोस न ।

मेलम्ची नगरपालिकामा हामी निर्वाचित भईसकेपछि मेलम्ची नगरपालिकाको हामीले आवधिक योजना बनायौं । आवधिक योजनालाई हामीले मार्गदर्शक मान्दै त्यसका प्राथमिकताका आधारमा कार्यक्रम अगाडि बढायौं । खासगरी पूर्वाधारको कुरा गर्ने हो भने हामीले शिक्षा, स्वास्थ्य, सडक र कृषि क्षेत्र हाम्रा प्राथमिकताका क्षेत्र हुन् । यसमा अर्को थप्दा पर्यटन पनि छ । मेलम्ची नगरपालिका काठमाडौंबाट नजिक भएको हुनाले वाह्य पर्यटनको कुरा भन्दा पनि आन्तरिक पर्यटनलाई प्रर्वदन गर्ने हिसाबले धौले क्षेत्र र गुफा डाँडामा कामहरुलाई अगाडि बढाएका छौं । र ति कामहरुमा मेलम्ची नगरपालिकाले केही गौरवका आयोजनाका रुपमा हामीले सुरुवात गरेका थियौं ।

नगरपालिकाले खासगरी ग्रिनसिटी पार्क, बसपार्क, फोहोर मैला व्यवस्थापन बनाएका थियौं । तर पछिल्लो पटक मेलम्ची खोलामा बाढी आईसकेपछि असारको १ गते र पछि साउनको १६,१७ र १८ गते आएको बाढीले हामीले निर्माण गरेका सबै संरचना ध्वस्त बनाएको छ । त्यसपछि हामीले मेलम्ची नगरपालिकालाई अगाडी बढाउने सन्दर्भमा मेलम्ची नगरपालिका र वडा कार्यालय जोड्ने सडकहरुको बिस्तार र विकास गरेका छौं । त्यसपछि वडा कार्यालयहरुलाई संस्थागत विकासको निम्ति अगाडि जनाको निम्ति मेलम्ची नगरपालिकाको आफ्नो प्रशासनिक भवन बनाएका छौं । त्यस्तै १, २, ३, ९, १० र १३ नम्बरको वडा कार्यालयहरु निर्माण सम्पन्न गरिसकेका छौं ।

यो संगसंगै मेलम्ची नगरपालिका भित्र एउटा वडा वाहेक सबै वडामा स्वास्थ्य चौकी निर्माण गरेका छौ । मेलम्ची नगरपािलका भूकम्प पछि आएको हुनाले विद्यालय विल्डि, फर्निचर, ल्याब, पुस्ताकालय ति कुराहरुलाई व्यवस्थित गर्ने काम गरेका छौं । यसरी हेर्दाखेरी हामी यतिबेला भन्न सक्थ्यौं की हाम्रा गौरबका आयोजना बनी सकेका हुन्थे । कम्तिमा पनि हामीले जनताका निम्ति भन्ने ठाउँ प्रयाप्त थिए । तर अहिले दुखःका साथ भन्नुपर्छ । मेलम्ची नदिमा अकल्पनीय ढंगबाट बाढी आयो त्यसपछि असाध्यै क्षति बनाएको छ । हामीलाई पिडांवोध भएको छ । यो खोलाले हामीले बनाएको संरचना मात्र होईन मेलम्ची नगरपालिकाको १८८२ रोपनी क्षेत्रफलको जमिन बगाएको छ । त्यस्तै २३१ घर खोलाले बगाएको र डुबेका त्यस खालको अवस्थामा छ । अहिले हाम्रो ध्यान भनेको मेलम्चीकोे मुहान क्षेत्रको अवस्था हेरेर अब मेलम्ची नगरपालिकाको जुन नदि किनारका क्षेत्रहरु छन् ।

त्यसका कस्ता योजना बनाउने भन्ने सन्दर्भमा हामी छलफल गरिरहेका छौं । हामीले विज्ञहरु ल्याएर अध्यायन गराउने र खासगरी मेलम्ची, ईन्द्रावती नदिबाट एउटा मापदण्ड निर्धारण गर्ने र त्यसलाई सार्वजनिक गर्ने । त्यससाथै अब हाम्रा योजनाहरु कस्ता हुन सक्छन । कम्तिमा विपद पछि हाम्रा योजनाहरु कस्ता हुनपर्छ भन्ने एउटा कुरा र विपदबाट बच्नका निम्ति हामीले कस्ता खालका योजना बनाउनु पर्छ भनेर पनि हामीले अभ्यास गरिरहेका छौं । अहिले हामीले विज्ञहरुको टोली झिकाएका छौं । त्यो टोलीले अध्यायन गरिसकेपछि त्यो रिपोर्टको आधारमा नगरपालिकाले त्यसलाई पास गछौं र त्यसपछि कामका योजनाहरु बनाउँछौं । त्यसपछि सक्ने कुराहरु हामीले गर्छौ र नसक्ने कुराहरु प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्छौं ।

२) बाढीले क्षति पु¥याएका कारण पुलहरुको अवस्था अत्यान्त नाजुक छ यस्तो अवस्था काम कारवाही कसरी सहज होला ?

निश्चयनै यहाँले भने झैं मेलम्ची नगरपालिका भित्र मोटरेवल पुलहरु पूर्ण रुपमा क्षति हुँदा काम गर्न निकै कठिनायी भएको छ । तर पनि हाम्रै प्रइत्नमा दुईवटा पुलहरु अहिले टेन्डरको प्रक्रियामा पुगेको छ । त्यस्तै एउटा झोलगें पुल पूर्ण क्षति र ४ वटा आंशिक क्षति भएको त्यसको मर्मत गर्ने योजना छ । कम्तिमा पनि राणा शासन कालमा बनेको एउटा पुल जसलाई हामीले पुल बजार भन्ने गर्दथ्यौं । त्यो पुललाई जस्ताको तस्तै पुल बनाउने गरी हामीले सडक डिभिजन कार्यालय संग कुरा गरेका छौं । उहाँहरुले त्यो पुलको लागि डिजाईन गर्दै छौं भनेर उहाँहरुले भन्नु भएको छ ।

यसरी हेर्दा खेरी मेलम्ची नगरपालिका र यसका विभिन्न वडाहरु र अरु पालिकाहरुलाई जोड्नको निम्ति पनि प्रयत्न गरिरहेका छौं । त्यसैले हामी अन्तिम बर्षमा छौं । र अहिले हामीले जति पनि काम गरेका छौं । ति कुराहरु पनि जनताको बीचमा लैजादै छौं । अब जति क्षति भयो अब यसलाई पुर्नस्थापनामा कसरी लैजाने भनेर वडाहरुलाई सडकको सञ्जालबाट कसरी लैजाने भनेर हामीले केन्द्रित गरिरहेका छौं । यो संगसंगै हामीले धौले क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने । खासरगरी धौले क्षेत्र भन्ने वित्तिकै ४,५, ६ र ११ नम्बर वडा पर्दछ । चारवटा वडा जोडिएको क्षेत्र धौले क्षेत्र पर्दछ ।

त्याहाँ हामीले एउटा पोखरी बनाएका छौं । मन्दिर लगाएत संरचचना बनाउँदै छौं । मन्दिर जानको लागि बाटो तथा गेट बनाउँछौं । त्यस्तै सतल र ३ सय मितर माथीको सिंढी हाल्दै छौं । सिंढीको दायाँ वायाँ बालबगैंचा बनाउँदै छौं । भविश्यमा त्यसलाई प्रर्वद्धन गर्नको निम्ति एउटा भवन बनाउँछौं । ताकी त्याहाँ होटल रिसोर्टहरु बन्न सकोस । त्यसपछि त्याहाँ पानी वितरण गर्नको लागि बस्तीमा पनि पानी दिने र त्यसआसपासका ठाउँहरुमा पनि सार्वजनिक धारा निर्माणको निम्ति योजना बनाएका छौं । यसपटक नै सम्मपन्न गर्ने गरी लागेका छौं ।

३) यहाँले विस्तृतमा आफूले काम गरेको धेरै कुराको चर्चा गरिसक्नु भयो तर पाँच वर्षको बीचमा जनतामा देखिने एकदुई वटा मात्रै उदाहरणीय काम छोटोमा भनिदिनुहोस न

पहिलो कुरा मेलम्ची क्षेत्रका जनतालाई मेलम्ची नगरपालिका र मेलम्चीको बजारसम्म सडक जोड्ने काम गरेका छौं । त्यसपछि स्वास्थ्यचौकी भवन निर्माण गर्दै मेलम्ची नगरपालिकाको आफ्नै स्रोतमा स्वास्थ्य चौकीका निम्ति आवश्यक कर्मचारीहरु नियुक्ती गरेका छौं । सबै वडामा स्वास्थ्य सेवा सञ्चालन गरेका छौं । मेलम्ची नगरपालिका ११ वटा साविकको गाविस मिलेर बनेको नगरपालिका हो । दुईवटा वडाहरुमा स्वास्थ्यचौकीहरु थिएनन् । नयाँ स्वस्थ्यचौकी भवन बनाएर कर्मचारी पुर्ति गरेका छौं । त्यसैगरी तीनवटा शहरी स्वास्थ्य क्लिनिक भनेर स्थपना गरेका छौं । त्याहाँ कर्मचारी भर्ना गरेर स्वास्थ्य सेवा सञ्चालन गरेका छौं ।

खासगरी सेवाको कुरा गर्दा किन बनायौ भन्ने प्रश्न गर्दा मेलम्ची नगरपालिकाका स्वास्थ्यमा जनताको कतिको पहुँच छ भनेर एउटा अध्यायन गराएका थियौं । त्यो अध्यायनको रिर्पोटको आधारमा मेलम्ची नगरपालिकाको ९, ११ र १२ नम्बर वडामा स्वास्थ्य स्थिति अत्यान्त कमजोर भएको हुनाले ति ठाउँहरुमा शहरी स्वास्थ्य क्लिनिक भनेर दुईजना कर्मचारी राखेर खोलेका छौं । उनीहरुले जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

यसरी सुत्केरी भईसकेपछि उहाँहरुलाई तीन महिनाको निम्ति पोषण भत्ता दिएका छौं । त्यसपछि सुत्केरी ठाउँमा जानको निम्ति निशुल्क एम्बुलेन्स व्यवस्था गरेका छौं । त्यस्तै जेष्ठ नागरिकहरुको निम्ति हरेक तीन तीन महिनामा औषधीहरु उपलब्ध गराउने काम मेलम्ची नगरपालिकाले अगाडि बढाएको छ । त्यस्तै मेलम्चीमा १५ वेडको अस्पताल बनाउन टेण्डर गरिकन त्यसको कामको सुरुवात भएको छ । ल्याबमा ८ प्रकारका जाँच गर्न सकिने व्यवस्था गरेका छौं । अहिले पनि त्याहाँ प्राविधिकहरुले काम गरिरहनु भएको छ । जटिल अवस्थाका सुत्केरी यहि गराउनको निम्ति त्यसको व्यवस्था सबै पूर्वाधार निर्माण गरिसकेका छौं । अब केही दिनमा प्रदेश सरकार र संघीय सरकारलाई डाक्टरको निम्ति गरेका छौं । त्यो अवधिमा विशेषग्य नियुक्ती गर्ने सोचेका छौं ।

त्यसैगरी विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई उनीहरुलाई एउटा अभियान सञ्चालन गरेर विद्यालयसम्म ल्याउन लागि रहेका छौं । त्यो संगसंगै मेलम्ची नगरपालिकालाई बालबालिकाको क्षेत्रमा उनीहरुलाई अप्ठ्यारो नपरुन उनीहरुको हेरचाहको निम्ति एउटा कोष खडा गरेका छौं । त्यसबाट आवश्यक परेको अवस्थामा उनीहरुलाई सहयोग गरेका छौं । पढ्न सक्नेलाई पठाउने, नसक्नेलाई स्याहार सुसार गर्ने यस खालका कामहरुलाई पनि हामीले अगाडि बढाई रहेका छौं ।

४) यहाँले यसो भनिरहँदा के पाँच वर्षको बीचमा जनताका सबै काम पुरा भए जस्तो लाग्छ ?

हामीले यसलाई यसरी कुरा गर्दा घोषणापत्र बनाएका थियौं । त्यो घोषणा पत्रलाई चेकलिष्ट बनाएर म आफैं पनि अध्यायन गर्दै छु । त्यो अनुसार काम भयो की भएन । हामीले जे बोलेका थियौं त्यो भएको छ छैन भनेर हेर्दै छु । यति प्रतिशत भयो भन्ने स्थितिमा त म पुगेको छैन । मैले बनाएको चेक लिष्ट हेरेर र साथीभाईहरुसंग बसेर उहाँहरुले यो चाँही पुरा भयो भनिसकेपछि पक्कै प्रतिशतमा कुरा गर्न सकौंला ।
समग्रमा भन्नु पर्दा खेरी हामीले अधिकांश कामहरु पुरा गर्ने दिशामा हामी अगाडि बढेका छौं । त्यतिबेला हामीले शिक्षा, स्वास्थ्य, सडक, सिंचाई लगाएतका पुरा गर्ने बाचा गरेकोमा त्यसको नजिक पुगेका छौं भन्ने मैले अनुमान गर्छु ।

५) मेलम्ची नगरपालिकालाई सुन्दर नगरी बनाउने यहाँहरुको सपनालाई त मेलम्ची बाढीले कुरुप बनायो । त्यसपछि पनि मेलम्ची नगरपालिकाले खासै चासो नदिएको भन्ने जनताको आरोप छनी ?

मेलम्ची नदिमा बाढी आईसकेपछि हामीले उहाँहरुलाई बचाउन संरक्षण गर्नको निम्ति मेलम्ची नगरपालिकामा सबभन्दा पहिला थाहा पाउने बित्तिकै सुरक्षित रहनको निम्ति माईकिङ गर्यौं । मेलम्ची नगरपालिकामा भोतिक सम्पत्तिको ज्यादै नोक्सान भएपनि मानवीय क्षेति हुन पाएन । त्यस अबस्थामा हामीले उहाँहरुलाई विद्यालय, सामुदायिक भवनमा, व्यारेकमा समेत राख्यौं तर अलिकति यस्तो बेलामा अनेक खालका अवसरवादीहरुले खेल्दा रहेछन् । को पिडित, को होईन छुट्याउने अप्ठ्यारो परिस्थिति हुँदो रहेछ । त्यतिबेला मान्छेको भिड यति धेरै थियो की म आफैंलाई व्यारेकबाट मेलम्ची नगरपालिका आईपुग्न एकघण्टाको टाईम लाग्यो । त्यतिबेला हामीले धेरै नै पर्यत्न गर्यौं । हामीले जस जसको घर लगेको छ उनीहरुलाई २५ हजार दियौं ।

जोखिममा भएका घरहरुलाई २० हजार दियौं । त्यसपछि व्यापार व्यवसाय गर्नेहरु तर जसको पूर्ण रुपमा क्षेति भएकाहरुलाई १५ हजार र आंशिक क्षति भएकालाई १० हजार उहाँहरुकै हातमा जम्मा गरिदियौं । त्यति मात्रै होईन स्कुलमा, व्यारेकमा र सामुदायिक भवनहरुमा राख्यौं । समस्या ६,७, १० र ११ नम्बरमा थियो । सबभन्दा पहिला कोराना टेष्ट गरायौं । १३ दिन पछि सबैले डेरा खोजेर सर्नुभयो । उहाँहरुलाई आवश्यक पर्ने किचन सेट, किचनमा पाईने सबै भाँडाकुँडा देखि ग्याँस चुल्हो समेत प्रत्येक परिवारलाई उपलब्ध गराएका छौं ।

यहाँले भन्नु भन्नु भएझै हामीले एउटा मापदण्ड बनाएका थियौं । त्यो मापदण्डमा त्यस्ता खालका मान्छेहरु समेत छिरेर राहत लिन खोज्ने त्यस खालको प्रवृति देखा परेको हुनाले केही समस्या भयो । कसैले त्यसलाई बढाई चढाँई गरेर प्रचार गरेको हुनपर्छ भन्ने मलाई लाग्छ । जाँहासम्म अलिकति समस्या भनेको चाँही नदिको बहावलाई रोक्नको निम्ति क्षतिलाई कम गर्नको निम्ति हामीले जुन डोजरको प्रयोग गर्यौं । ८ वडा डोजर हामीले दुईमहिना चलायौं ।

त्यसबेला विभिन्न ढंगले विवाद हुने कहि अनेक खालका समस्या आउने । कोही चाँही आफ्नो घर बचाउने अर्को चाँही जेसुकै हो भन्ने समुदायका मान्छेहरु त्यो प्रकारको भएको हुनाले अलि अलि त्यसबेला झडप पनि भए । यहाँले पनि देख्न सक्नु हुनेछ पारी दनुवारहरुको घरहरु छन् । त्याहाँ पनि खोलाले रेटिरहेको छ । त्यो खोलालाई अलिकति वर तान्नौ भन्दा केही व्यक्तिको जग्गा भएको हुनाले केहीले डोजर माथि ढुंगामुढा गरेर त्याहाँ काम गर्न सकेन । यस खालका विवादहरु पनि रहे । यसले कुनै पनि काम विवाद रहित भयो भन्ने कुरा होईन यस खालको कुरा गर्दा केही विवादहरु हुन्छन् । हाम्रो समाजको प्रकृति पनि त्यस्तै छ । त्यसैले मलाई लाग्छ अन्यथा ठान्न पर्छ जस्तो मलाई लाग्दैन ।

६) जे हुनु अब त भईसक्यो, अब मेलम्चीलाई पुर्नजिवित गर्न कसरी सोच्नु भएको छ ?

यसका निम्ति हामीले एउटा विज्ञहरुको समुह बनाएका छौं । त्यो विज्ञहरुको समहुले खासगरी भेमाथान एरियाको रिपोर्ट लिनेछन् र त्यो रिपोर्टको आधारमा मेलम्ची देखि तालामारा बजार देखि सिपाघाट सम्मको जुन खालको स्थिति छ । त्यसको उनीहरुले अध्यायन गर्ने, अध्यायनको आधारमा उहाँहरुले खोलाको मापदण्ड सिफारिस गर्ने र त्यसपछि ती ठाउँहरुमा के के सकिन्छ भन्ने सन्दर्भ उहाँहरुले सिफरिस गर्ने । त्यसपछि मापदण्ड बनाई सकेपछि त्यो मापदण्डलाई रेखान्कन गरेर त्यो भन्दा तलका घरहरुलाई हटाउनुहोस भन्दै घर बनाउनको निम्ति पैसा दिने र उहाँहरुलाई सुरक्षित घर बनाउने त्यो योजना बनाउन खोजिरहेका छौं ।

यसरी विज्ञहरुको सुझाबका आधारमा गर्छौं । र त्यो कुरा गर्दा खेरी हामी जुन योजना बनाउँछांैं की भोली छिट्टै निर्वाचन हुँदैछ । त्यो निर्वाचनबाट आईसकेको जनप्रतिनिधि त्यसलाई जस्ताको तस्तै बोक्ने गरी हामीले कार्यक्रम बनाउँछौं । पार्टीगत हिसाबले पनि एमाले, कांग्रेस, माओवादी जतिपनि पार्टीहरु छन् उनीहरुलाई त्याहाँ राखेर त्यो योजना पारित गर्छाै र जो जो निर्वाचित भएर आउन सक्छ ति योजनालाई निरन्तर दिनेगरी योजना पास गर्छौ । यि सबै कामहरुलाई आउने जनप्रतिनिधिहरुले निरन्तरता दिनुपर्छ ।

७) यहाँका अझै थुप्रै योजना र सपनाहरु होलान तर यो पाँच वर्षको बीचमा मैले यो कुरा चाँही गर्न छुटाएँ वा भ्याईन यो कुरा अधुरै रह्यो भन्ने लाग्दैन ?

मलाई मनमै लागेको कुरा गर्नुहुन्छ भने कुषि क्षेत्रको विकास निकै चुनौतिपूर्ण छ । यो कृषि क्षेत्रलाई विकास गरेर यहाँका जनतालाई धनी बनाउन सकिन्छ भन्ने कुरा चाँही संधैका निम्ति उपयुक्त होईन भन्ने अनुभूति गरेको छु । त्यसैले अलि व्यवसायी ढंगले गर्ने र निरन्तरता उसले गर्छ र बाँकी धेरै किसानहरुले उत्पादन गर्ने र धनी हुने स्थितिमा मेरो अनुभवले पनि त्यस्तो स्थितिमा पुर्याउन सकिन्छ जस्तो लाग्दैन । हाम्रो क्षेत्रलाई बाढीले सखाप त पारेकै छ । तर पनि यसलाई हामीले चुनौतिको रुपमा लिंदै यो नदिलाई पनि व्यवस्थापन गर्ने मलाई लागिरहेको कुरा के हो भने यो मेलम्ची नदिको व्यवस्थापन चाँही नेपालकै नमुना बन्न सकोस ।

कम्तिमा पनि यहाँबाट मुलुकभरीका मान्छेहरुले यो चाँही नदिमा बाढी आईसकेपछि यसको व्यवस्थापन कसरी हुँदो रहेछ भन्ने उदाहरणीय सहित हामीले नमुना बनाउने गरी हामी अगाडी जान खोजेका छौं । यसको निम्ति यो मुलुकका ठूला ठूला ईन्जिनिएरहरु उनीहरुसंग पनि छलफल गरेको छु् । काठमाडौं र त्रिभुवन युनिभरसिटीका प्रोफेसरहरु संग पनि छलफल गरेको छौं र उहाँहरुले पनि हामीलाई सहजीकरणको निम्ति विभिन्न ठाउँमा लागि गरिरहनु भएको छ ।

त्यसलाई नै टुरिजम प्रर्वद्धन गर्नेगरी पनि जान सकिन्छ । यसको निम्ति धौले डाँडा गुफा डाँडालाई पनि पर्यटन प्रर्वधदन गर्ने तथा माथिल्ला क्षेत्रहरुमा होटलहरुको विकास गर्ने योजना छ । यसरी होम स्टेहरुको विकास गर्दै जाने हो भने पक्कै पनि पर्यटन प्रर्वधनको कुराले काठमाडौंका मान्छेहरु मात्रै होईन हामीले यो मुलक भरीका मान्छेहरुलाई ल्याउन सक्ने स्थितिमा पु्र्याउन सकिन्छ । कम्तिमा त्यो चाँही गर्न सकिन्छ भन्ने लागेको हो । यसको हामीले प्रारम्भ गरेपनि लक्ष्यमा पुग्न सकेका छैनौ । हामीले आश गरेको कुरा के थियो भने मध्यपहाडी लोकमार्ग बन्दै छ । यो बन्न साथ बिकासको माहोलमा अगाडि बढाउन सकिन्छ ।

किबि खेती लगाएत वैकल्पिक र आधुनिक कृषि प्रणाली मार्फत हामीले योजना अगाडी बढाउन सक्यौं भने सकिन्छ भन्ने लाग्छ ।
८) अन्त्यमा जाँदा जाँदै यस मिडिया मार्फत यहाँले दिने सन्देश केही छ ?

निश्चय नै यतिबेला हामी विपदमा छौं । तर विपदलाई सामाना गरेर अनेकौं चुनौतिका पहाडहरु पन्छाउँदै अगाडि बढ्ने कोशिस गरिरहेका छौं । यस कार्यको लागि तपाई मिडिया कर्मीहरुको समेत ठूलो भूमिका रहने छ । सत्य र समाचार लेख्न म तपाईको मिडिया मार्फत अन्य मिडिया कर्मीहरुलाई समेत आग्रह गर्न चाहान्छु । हाम्रो नगरपालिकाले गरेको समग्र काम तथा भावी योजनाहरु लगाएत समस्या र चुनौतिहहरुको समेत विचार राख्ने जुन अवसर राख्न दिनुभयो । त्यसको लागि यहाँको मिडिया टिम र यहाँलाई धन्यवाद दिन चाहान्छु । धन्यवाद ।