चोरी निन्त्रणमा प्रहरीको सफलता, दुईसातामै चोरीका सामान सहित संलग्न पक्राउ

दिनेश दुलाल
पुष २७, चौतारा (सिन्धुपाल्चोक) । जिल्लामा पछिल्लोपटक चोरी सम्बन्धी अपराधका घटना हुने क्रम बढ्दो छ । ग्रामिण बस्ती देखि जिल्ला सदरमुकाम सम्म चोरीका घटना बढेको भन्दै सर्वसाधारणमा त्रास फैलिएको छ । तर जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भने चोरी लगाएत अपराध नियन्त्रणमा सक्रियता देखाएको छ ।

जनतालाई सुरक्षाको प्रत्याभूति गराउने गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पछिल्लो पटक आफ्नो सक्रियतालाई बढाएको हो ।
सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका–५ पुरानोबजारमा दुई साता अघि भएको चोरीको घटनामा प्रहरीले चोरी भएका सामाग्री सहित संलग्नलाई पक्राउ गर्न सफल भएको छ ।

नेपाल पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठको घरमा पुष १२ गते दिउसै नगद सहित गरगहना चोरी भएको थियो । तर प्रहरीले एकसाता नबित्दै चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।
९० प्रतिशत भन्दा माथि अनुसन्धान सकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सोमबार पत्रकार सम्मेलन गरी चोरीएका सामाग्री सहित संलग्न चारजनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले बरमाद गरेका सामाग्री

प्रहरीले घटनामा संलग्न कन्चन पराजुलीलाई घटना घटेको दिन नियन्त्रणमा राखी अनुसन्धान शुरू गरेको थियो । पराजुली पीडित श्रेष्ठकै घरमा भाडामा बस्ने सुनकोशी–६ ७ किलोकी हुन् । उनकै बयानका आधारमा प्रहरीले ईन्द्रावति गाउँपालिका–१० बडहरे घर भई भक्तपुर कमलविनायक बस्ने वर्ष २४ का मनिष सुन्दास, सोही गाउँपालिका–९ सिपाटार घर भई भक्तपुर सुर्यविनायक न.पा.४ बस्ने वर्ष २५ का बुद्ध तामाङ र ईन्द्रावति गाउँपालिका–९ सिपाटारक २६ वर्षीय विक्की भन्ने अनिल तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई प्रहरीले पुष २३ गते सम्म पक्राउ गर्न सफल भएको थियो । प्रहरीले घटनामा सम्लग्न व्यक्तिहरुको पहिचान, खोजतलास तथा पक्राउ गर्न काठमाण्डौ लगायत देशका विभिन्न भागमा खोजतलास तिब्र बनाएको थियो ।

जसमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको प्रहरी टोलीको सक्रियतामा दशी सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए । उनीहरुबाट प्रहरीले सुनाचाँदीका गरगहना आधा दर्जन मात्रै फेला पारेको थियो । त्यसमा पनि केही सुन स्वरुप परिवर्तन गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । तर श्रेष्ठको घरबाट सुन चाँदीको गहना, सुन जस्तो देखिने धातुका नक्कली गहनाहरू समेत गरी १३ तोला र नगद एकलाख तथा पुरानो सिक्का चोरी भएको भनेर प्रहरीलाई दिईएको उजुरीमा उल्लेख छ । समातिएका उनीहरुबाट प्रहरीले प्रहरीले उनीहरुबाट विभिन्न ब्राण्डका मोवाईल सेट थान ५ र प्रदेश ३–०२–०१३ प १०६४ नं.को मोटरसाईकल थान १ बरामद गरेको प्रहरीले जानकारी दिएको छ । समातिएका सबै पढ्दै गरेका विद्यार्थी हुन् ।

प्रहरीले यति छिट्टै सफलता प्राप्त गर्नुमा स्वयम पीडित पक्षको सहि सूचनाको आधार रहेको प्रहरी प्रमुख अधिकारीको भनाई छ । घटना अझै अनुसन्धानकै क्रममा रहेकोले सबै कुरा केही दिनमै बिस्तृत रुपमा जानकारी गराईने उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले समातिएका चारै जनालाई डाँका चोरी मुद्दा अदालतमा दर्ता गरेर थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चारैजना पेशेवर चोरीमा संलग्न भएको देखिएको प्रहरीको ठम्याई छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यसअघि पनि प्रहरीले जिल्लाका अन्य चोरीका घटनामा संलग्नलाई समेत तत्काल पक्राउ गर्न सफल देखिएको छ ।

सम्बन्धित घरधनीले घरमा ठूलो चाल्चा लगाएर ढुक्कसंग बाहिरानले अन्य चोरीका घटना हुने एसपी अधिकारीको तर्क छ । ‘घरमा बलियो चाल्चा लगायौं भनेर अन्यन्त्र बस्नाले चोरलाई झन सजिलो हुन्छ’, अधिकारीले भने । चोरले घर फुटाउँदा मुली बस्ने ठाउँमा केन्द्रित गर्ने हुनाले नगद तथा गरगहना घरमा नराख्न र प्रयोगमा ल्याईएका सामाग्री सुरक्षित संग राख्न समुदायलाई अपिल समेत गरे ।

दुईसाता नबित्दै जिल्ला प्रहरी कार्यालयले चोरीमा संलग्नलाई पक्राउ गर्न सफल हुनु सिन्धुपाल्चोकको मात्र नभई अपराध नियन्त्रणमा प्रहरीको सफलता मिलेको पत्रकार माहासंघका अध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिए । अपराध नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयसंग पत्रकार माहासंघले समन्व्य निरन्तर जारी राख्ने उनले बताए ।