कर्णाली जस्तै लिसंखुपाखरको उसिदुम, सभाामुखसंग स्थानीयले यसरी पोखे वेदना

दिनेश दुलाल
पुष २५, लिसंखु (सिन्धुपाल्चोक) । लिंशखुपाखर गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय काजी बहादुर तामाङ मञ्चमा बोल्दा बोल्दै भावुकीय । मानीलिऔं उनका अन्तर आत्मभित्रका वेदना यसरी छरप्रष्ट हुँदैथियो । उनका भाषण सुन्ने दर्शक देखि मञ्चमा आशिन अतिथि गण समेत भावुक बने । उनले भाषणमा प्रयोग गरेका प्रत्येक तर्कहरुमा अविभावक लगाएत स्थानीयको तालीको गडगढावट सुन्निन्थ्यो । वृद्व अवस्थामा पुगेका वडाअध्यक्ष लामाले सभामुख अग्नि प्रसाद सापकोटा तथा शिक्षा राज्यमन्त्री वोधमायाँ कुमारी यादवसमक्ष राखेका विचार उनका निजी थिएन । वडाअध्यक्ष तामाङको भाषणमा कसैप्रति आरोप प्रत्यारोप थिएन । न तुच्छ शव्द र कटाक्षनै थियो । बरु शालिन, नम्र र सभ्य बनेर सिन्धुपाल्चोकको कर्णाली जस्तै बनेको घिच्चेत उसिदुम माध्यामिक विद्यालय र त्याहाँको सडकको दुर्दशाको वास्तविक चित्रण प्रस्तुत गरेका थिए ।

घिच्चेत उसिदुमु माविको विद्यालयको ५३ औं जन्मजयन्तीको समउदघाटन गर्दै सभामुख सापकोटा

वडाअध्यक्ष तामाङले सभामुख सापकोटा र शिक्षा राज्यमन्त्री यादव समक्ष विनम्रताका साथ भने– म कुनै भगवान मान्दिन, जनताका निम्ति तपाँईहरु हो भगवान, यहाँको अवस्थाको बारेमा गम्भिर बनिदिनुहोस ।’ ‘विद्यालयको अवस्था निकै नाजुक छ, सडकको अवस्थाले जनताले सास्ती भोगिरहेका छन्’, वडाअध्यक्ष तामाङले भावुक हुँदै भने । वडाअध्यक्ष तामाङ जस्तै विद्यालयका प्रध्यानध्यापक चतुर लामाले समेत सभामुख र शिक्षा राज्यमन्त्री समक्ष विद्यालयको भौतिक, शैक्षिक तथा शिक्षक र विद्यार्थीको अवस्थाको बारेमा बेलिविस्तार सुनाए ।

एकवर्ष अघिदेखि विद्यालयको प्रअ बनेका लामाले राज्यको कुनै तहले घिच्चेत उसिदुम विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको लागि चासो नदिएको भन्दै दुखेसो पोखे । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रअ लामाले उक्त विद्यालयमा शैक्षिक सामाग्री सहित प्रयाप्त कक्षा कोठा र प्रयाप्त शिक्षक जनशक्ति नभएका कारण विद्यालय खस्किएको बताए ।

अन्य वक्ताहरुले समेत सो क्षेत्र राज्यको पँहुचबाट कर्णाली जस्तै बनेको भन्दै विद्यालय लगाएत स्थानीयको विकास निर्माणमा चासो दिन सभामुख सापकोटाको ध्यानकर्षण गराए ।
विद्यालयको ५३ औं जन्मजयन्ती तथा अभिभावक भेलालाई सम्वोधन गर्न आईतबार उसिदुम पुगेका सभामुख सापकोटाले सम्बोधनका क्रममा स्थानीयले राखेको समस्या प्रति आफू गम्भिर र चिन्तित भएको सुनाए ।

‘तपाईहरुको समस्याप्रति म चिन्तित र गम्भिर भएको छु, मैले नचाहेर होईन नभ्याएर हो’, सभामुख सापकोटाले भने । सभामुख सापकोटाले आफूले राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धमा बढी चासो दिंदा जनताको समस्यामा एकाकार हुन नसकेको प्रष्ट्याए । ‘म विविध कारणले आउन सकिन, म जाहाँ छु आखिर तपाईहरुकै छु’, जनतालाई आश्वस्त पार्दै सभामुख सापकोटाले भने । जनताले भोट दिएर आफू सभामुख भएको स्मरण सुनाउँदै सभामुख सापकोटाले जनतासंग आफू कहिल्यै नटाढिने बचन दिए । जनताको हित वाहेक व्यक्तिगत चाहाना र स्वार्थ केही नसोचेको धारणा राख्दै सभामुख सापकोटाले जनताकै भावनामा आफू एकाकार हुने प्रतिवद्वता समेत जनाए ।

कार्यक्रमकी विशेष अतिथि शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री यादवले उसिदुमका स्थानीय जनताको समस्या सुन्दा आफू भावुक भएको सुनाईन । राज्यमन्त्री यादवले मुलुकमा २०३८ साल देखिको शिक्षा नीति अझै कायम रहेकोले त्यसलाई आफूले परिवर्तन गर्न चाहेको बताईन । शिक्षा सेवा आयोगले देशभरी १७ हजार शिक्षक माग गरेकोले शिक्षक अभाव भएका सबै विद्यालयमा सहज हुने उनको दावी छ । नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरुवात गरेकोले घिच्चेत उसिदुम माध्यामिक विद्यालयको भौतिक लगाएत शैक्षिक सुधारको लागि आफू रहेको मन्त्रालयमा निवेदन पेश गर्न उनले आग्रह गरिन । वालवालिकाको शिक्षकको लागि आफूले नीतिगत निर्णय गरिसकेको उनले खुलासा गरिन ।

समाभुख सापकोटाको क्षेत्र रहेको सिन्धुपाल्चोकमा शैक्षिक सुधारका कार्यक्रमहरु ल्याउने उनले बचनवद्वता समेत जनाईन ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, जिल्ला शिक्षा ईकाई प्रमुख कृष्णप्रसाद सुवेदी,लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल तथा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि लगाएतले मन्तव्य राखेका थिए ।

यसैबीच विद्यालयको वार्षिक उत्सव कार्यक्रमको अवसरमा झण्डै २० लाख भन्दा माथि रकम संकलन भएको सो विद्यालयले जनाएको छ ।
विद्यालयले सुरुवात गरेको शैक्षिक अक्षयकोषमा स्थानीय समाजसेवी केदार उप्रेतीले सबैभन्दा ठूलो धनराशी पाँचलाख चन्दा दिएर सुरुवात गरेका थिए ।

उक्त कोषमा दुईदर्जन भन्दा बढी विभिन्न समाजसेवीहरुले आर्थिक सहयोग प्रदान गरेको विद्यालयका प्रअ लामाले जानकारी दिए । उक्त अक्षकोषमा केही वर्षमै एक करोड संकलन गरिने दानविर समाजसेवी उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा चन्दा दाताहरुलाई सभामुख सापकोटाद्वारा सम्मान समेत गरिएको थियो । राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती सहित भएको उक्त कार्यक्रममा अवपरबाट उलेख्य जनताको सहभागिता रहेको थियो ।