हाफ म्याराथनको उपाधी नेपाल आर्मीका गजेन्द्र राईले पाए

पुष २४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथनको उपाधी नेपाल आर्मीका गजेन्द्र राईले पाएका छन् ।

२१ किलोमिटर दुरी १ घण्टा ३६ मिनेट १२ सेकेण्डमा पुरा गर्दै राई प्रथम भएका हुन् । उनले ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कारको धनराशी प्राप्त गरेका छन् । जिल्लाको ऐतिहासिक क्षेत्र साँगाचोकगढी देखि सुरु भई मानेडाँडा, जल्किने, ईर्खु ,चौतारा हुदै ब्याङ्चेपानी तथा गौराती भिमसेन मन्दिर परीक्रमा गरी टुँडिखेलमा पुनः फर्केर दुरी पुरा भएको थियो ।

त्यस्तै दोश्रो र तेश्रो स्थानमा श्रीकास राई र नवराज साउदले क्रमश १ घण्टा ३६ मिनेट २४ सेकेण्ड र १ घण्टा ३८ मिनेट ११ सेकेण्डमा दौड पुरा गरका छन् । दोस्रो हुनेले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ प्राप्त गरेका छन् । चौथो स्थान १ घण्टा ४१ मिनेट १९ सेकेण्डमा दौड पुरा गर्दै रामजी बस्नेतले ५ हजार ५ सय ५५ रुपैया हात पारेका छन् ।

यसैगरी महिला तर्फ आर्मिकी विश्व रुपा वुढा पहिलो भएकी छिन् । उनले १ घण्टा ५६ मिनेट ०५ सेकेण्डमा दौड पुरा गरिन् । उपाधी संगै उनले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गरिन् । यस्तै महिलातर्फ दोस्रोमा हुमी बुढामगर र तेश्रो स्थान निर्मला राई भईन् । उनिहरुले क्रमश २ घण्टा १३ मिनेट १७ सेकेण्ड र २ घण्टा २० मिनेट ०८ सेकेण्डमा दौड पुरा गरे । यस्तै ४०–५९ वर्ष सम्मको भेट्रान्स महिला तर्फ राधा श्रेष्ठ प्रथम, उमा कुमारी दंगाल गौतम दोश्रो र सुष्मा पाण्डे तेश्रो भइन् । ४०–५९ वर्ष सम्मको भेट्रान्स पुरुष तर्फ भिम बहादुर गुरुङ प्रथम, धर्म महर्जन दोश्रो र दामोदर बुढामगर तेश्रो भएका छन् ।

यसैगरी सुपर भेट्रान्स तर्फ राम कृष्ण महर्जन पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो तथा गोविन्द सिलवाल तेश्रो भएका छन् । सिन्धुपाल्चोक जिल्ला तर्फ पिपलडाँडाका शिव कँुवर पहिलो बनेका छन् । प्रतियोगितामा सहभागि हुन सिन्धुपाल्चोक संगै काठमाडौ, ललितपुर, भक्तपुर, गुल्मी ,स्याङ्जा,भोजपुर, वर्दिया, कालिकोट, प्युठान लगायत ३० जिल्लाका १ सय ७० खेलाडी सहभागी थिए ।

साँगाचोकको गढीबाट बिहान ८ बजे देखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका थिए । उनले धार्मिक र सैन्य हिसाबले ऐतिहासिक साँगाचोकगढी र धार्मिक क्षेत्रको प्रचारप्रसारमा प्रतियोगिताले सहयोग गर्ने बताए ।

जिल्लाकै गौरब बोकेको ऐतिहासिक क्षेत्रलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले बताए । म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै आयोजन गर्दै जाने मेयर तामाङले बताए । कार्यक्रममा किर्तिमानी धावक बैकुन्ठ मानन्धर समेत सहभागि बनेका थिए । नयाँ पुस्ताका खेलाडीको हौसला र आफ्नो स्वास्थ्यको लागि प्रतियोगितामा सहभागि भएको मानन्धरको भनाई थियो । बैकुण्ठ मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा ४२ किमि दूरी दुई घण्टा १५ मिनेट तीन सेकेन्डमा पूरा गरेर दक्षिण एशियाली कीर्तिमान बनाएका थिए ।

स्मरण रहोस चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरिय खुल्ला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरीय खुल्ला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।