एमालेलाई नवौं जिल्ला अधिवेशनको चटारो, नेतृत्व व्यवस्थापनमै चुनौति

दिनेश दुलाल
बाह्रबिसे (सिन्धुपाल्चोक) । नेकपा (एमाले) सिन्धुपाल्चोकलाई यतिबेला नवौं जिल्ला अधिवेशनले छपक्कै छोपेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाह्रबिसे बजारमा हुने लागेको जिल्ला अधिवेशन आउन १ दिन बाकी रहँदा नेता कार्यकर्तामा छुट्टै रौनकता छाएको छ । पुष २३ गते शुक्रबार बाह्रविसेमा गर्ने जिल्ला अधिवेशनको तयारीको लागि आजै देखि नेता कार्यकर्ता अधिवेशनको अन्तिम तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।

बाह्रबिसेमा एमालेको जिल्ला अधिवेशनको तयारीमा जुटेका नेता तथा कार्यकर्ताहरु
(फोटो ः विदुर आचार्य फेसबुक वालबाट)

भोली देखि हुने अधिवेशनको उद्घाटन सत्र सकेर बन्दसत्र पछि मात्रै पदाधिकारी तथा सदस्यहरुको मनोनयन दर्ता प्रक्रिया सुरु हुने जनाईए पनि केही दिन देखि जिल्ला अध्यक्ष लगाएत पदाधिकारीको चर्चा चल्न थालेको छ । केहीले भने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन् । यसले एमालेमा जिल्ला नेतृत्व सहज रुपमा छान्न मुश्किल पर्ने विश्लेषकहरु बताउँछन् । सिन्धुपाल्चोकमा एमाले सहमतिमा नभई चुनावी प्रक्रियामा जान सक्ने आकलन गरिएको छ ।

हाल चर्चामा रहेका जिल्ला अध्यक्षका आकांक्षीहरु तीनजना गाउँपालिका अध्यक्ष र एकजना जिल्ला पार्टीका सहसंयोजक समेत छन् । एमाले पार्टीका पुराना नेताका रुपमा रहेका कमल नेपाल, केदार क्षेत्री र होमनारायण श्रेष्ठ गाउँपालिका अध्यक्ष हुन् भने बालकृष्ण देउजा पार्टीको जिल्ला सहसंयोजक हुन् ।
जिल्ला पार्टीको सचिव भईसकेका नेपालले जिल्ला अध्यक्ष झम्क नेपालले पुनः नदोहोरिने संकेत दिएसंगै आफू स्वतः अध्यक्षको दावेदार भएको बताउँछन् ।

त्यस्तै लामो समय पार्टीको सचिवालय सदस्य रहेका केदार क्षेत्रीको पनि अध्यक्षको लागि उति नै दावी गरेका छन् । उनले केन्द्रीय माहाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेपनि पछि हटेका थिए ।
नेपाल र क्षेत्री एउटै पार्टी रहँदा उनीहरु माधव नेपाल गुटका हुन् । त्यस्तै देउजा र श्रेष्ठ भने ओली गुटका हुन् । यसअघि सिन्धुपाल्चोकमा ओली भन्दा माधव गुट बलियो थियो ।

यद्यपि माधव नेपाल पक्षको सानो समुह चोईटिएर नेकपा (एकिकृत समाजवादी) बनेसंगै सिन्धुपाल्चोकमा सिंगो एमाले बनेको हो । १० बँुदे सहमतिका आधारमा बनेको एमालेमा पूर्व गुटको पुरानै धङधङी बाँकी रहेकाले त्यसको प्रभाव यो माहाधिवेशन सम्म प्रत्यक्ष पर्ने राजनैतिक जानकारहरु बताउँछन् । पुरानै समिकरण कायम रहे पूर्व नेपाल गुटका भनेर चिनिएका अनुहार मध्येबाटै अध्यक्ष निर्वाचित हुन सक्ने एमालेका एक जिल्ला नेताले सिन्धुज्वालालाई बताए ।

जिल्लाका प्रभावशाली नेता पूर्व सांसद सुभाष कर्माचार्य केही दिन अघि मात्र एमाले परित्याग गरिसकेकाले त्यसको केही असर पर्न सक्ने ती नेताको ठम्याई छ । उनी नेपाल र क्षेत्री समुहकै हुन् ।

यस्तो छ दुई खेमाको आ–आफ्नै समिकरण

ओली पक्षबाट जिल्ला अधिवेशनको अध्यक्षको दाबेदार रहेका होम नारायण श्रेष्ठ र बालकृष्ण देउजा मैदानमा उत्रिने भएका छन् । अन्ततः दुईमध्य एकजनालाई समर्थन गरेर भिड्न सक्ने स्रोतको दावी छ । उनीहरुको टिममा सचिवमा जेपी सिलवाल, चन्द्र थिङ र बिष्णुमणी आचार्य देखिएका छन् ।

त्यस्तै पूर्व नेपाल समुह अर्थात १० बँुदे समुहबाट जिल्ला अध्यक्षका दाबेदार कमल नेपाल र केदार क्षेत्री मैदानमा उत्रिने भएका छन् । यता पनि दुई मध्य एकजनालाई समर्थन गरेर भिड्न सक्ने स्रोतको दावी छ । उनीहरुको टिममा उपाध्यक्ष जरा लामा, सचिव कृष्ण गोपाल तामाङ, सोम बम्जन र ईन्द्र तामाङ देखिएका छन् ।

यद्यपि संगठन विभागले उमेदवारको हदबन्दी तोकेका कारण पुराना नेता बाहेक पदाधिकारीको लागि चर्चामा आएका नयाँ अनुहारको सन्दर्भमा फेरबदल हुनसक्ने एमालेका जिल्ला तहका एक नेताले ठोकुवा गरे ।

उनका अनुसार सामाजिक संजालमार्फत उमेदवार घोषणा गरेका केही नयाँ अनुहारहरुको हकमा एमाले संगठन विभागले जिल्ला सदस्य र पदाधिकारी उमेदवारको मापदण्ड तोके पछि समिकरणमा फेरबदल हुने देखिएको हो । संगठन विभागले तोकेको हदबन्दी अनुसार पदाधिकारीको लागि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको वा एक कार्यकाल सचिवालयमा काम गरेको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै जिल्ला कमिटी सदस्यको हकमा जिल्ला कमिटी, जिल्ला कमिटीको विभाग वा सो भन्दा तल्लो कमिटीमा एक कार्यकाल अनिवार्य काम गरेको हुनुपर्ने उल्लेख छ । तर एकता प्रक्रियामा समाहित भएकाहरुको हकमा भने विधानको धारा ६३ को(११) अनुसार हुने विभागको ठहर छ ।

एमाले सिन्धुपाल्चोकको नवौं अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्ने सो पार्टीले जनाएको छ । जिल्लामा सो पार्टीको १५ हजार भन्दा माथि संगठित सदस्य रहेको बताईन्छ ।