एमालेमा गएका माओवादी पृष्टभूमिका नेता पुरानै घरमा धमाधम फर्कदै

पुष २२, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (एमाले) मा रहेका माओवादी पृष्टभूमिका जिल्ला तहका नेता धमाधम पुरानै घरमा फर्कन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएर साविकको एमाले र माओवादी अलग–अलग भएसंगै केपी ओली नेतृत्वको एमालेमा रहेका सिन्धुपाल्चोक जिल्ला कमिटि सदस्य विष्णुलाल श्रेष्ठ तथा पूर्णबहादुर तामाङले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
भोली हुने एमालेको जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा सो पार्टीको जिल्ला कमिटिमा रहेका श्रेष्ठ र तामाङले आज छुट्टा छुट्टै प्रेसक्तव्य जारी गर्दै एमाले छाडेको घोषणा गरेका हुन् ।

एमाले छाडेका जिल्ला कमिटि सदस्य द्वोय पूर्णबहादुर तामाङ र विष्णुलाल श्रेष्ठ

सामाजिक सञ्जाल मार्फत प्रेस वक्तव्य जारी गर्र्दै श्रेष्ठले भनेका छन्–‘नेपाल कम्युनिष्ट आन्दोलनमा आवद्व रही हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि सदस्यमा रहि आएकोमा यस पार्टी भित्र देखा परेको व्यक्तिवादी अहंता, विकृति, विंसगति तथा गुटवादी प्रवृति मौलाउँदै गएको र भोली हुने जिल्ला अधिवेशनको घडिमा समेत जिल्ला कमिटि सदस्यलाई समेत जानकारी नदिएको हँुदा त्यस्ता गैरजिम्मेवार पार्टीमा रहन नसक्ने भएकोले त्यो पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट घोषणा गर्दछु ।’

जिल्ला कमिटि सदस्य रहेका श्रेष्ठले जस्तै अर्का जिल्ला कमिटि सदस्य तामाङले समेत सोही व्यहोराको प्रेस वक्तव्य जारी गरी एमाले छाडेको घोषणा गरेका छन् । एमाले पार्टी छाडेको प्रेस वक्तव्य मार्फत घोषणा गरेका श्रेष्ठ र तामाङले भने पुरानै पार्टी माओवादी मा फर्किएको भनेर उल्लेख गरेका छैनन् ।

सम्भवत उनीहरु पुरानै पार्टी माओवादी केन्द्रमा फर्कन सक्ने आंकलन गरिएको छ । आफू संगै माओवादी पृष्टभूमिका एमालेमा रहेका अन्य जिल्ला कमिटि सदस्यहरुले समेत एमाले छाड्ने उनीहरुको दावी रहेको छ ।
स्मरण रहोस केही दिन अघि मात्र जिल्लाका एमालेका प्रभावशाली नेता पूर्व सांसद सुभाष कर्माचार्यले एमाले छाडेको घोषणा गरेका थिए ।