
जिल्ला लिगको सेमिफाइनलमा राइजिङ,चौतारा, सदाबहार र साँगाचोक युवा क्लब

अशोक पराजुली / लामोसाँघु
जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा लामोसाँघुस्थित बसन्तपुर खेलमैदानमा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा राइजिङ,चौतारा, सदाबहार र साँगाचोक युवा क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
समुह ‘ख’बाट राइजिङ युथ क्लब विजेता र चौतारा स्पोर्टिङ क्लब उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । बसन्तपुर खेलमैदानमा आइतबार भएको खेलमा राइजिङ युथ क्लब र चौतारा स्पोर्टिङ क्लबले गोलरहित बराबरी खेलेपछि दुवै टोली अंक तालिका अनुसार सेमिफाइनल पुग्न सफल भएका हुन् ।
त्यस्तै समुह ‘क’बाट न्यू सदाबहार युवा क्लब विजेता र साँगाचोक युवा क्लब उपबिजेताका रुपमा सेमिफाइनल पुग्न सफल भएका छन् । समुह चरणको तिन खेलमा तिनै खेल जित्न सफल न्यू सदाबहारले शनिबार साँगाचोक युवा क्लबलाई दुई गोल गर्दै खेल जितेपछि समुह बिजेता बन्न सफल भएको थियो भने साँगाचोक युवा क्लब अंक तालिकामा लामोसाँघु फुटबल क्लबलाई पछि पार्दै समुह उपबिजेता बनेको हो ।
सिन्धुपाल्चोक जिल्ला फूटबल संघको आयोजना, क्षमादेवी ग्रुपको मुख्य प्रायोजन,बलेफी र लिसंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ,ब्ल्याक हर्स सुजको सहयोग र अखिल नेपाल फुटबल संघ( एन्फा )को प्राविधिक सहयोगमा जारी ए डिभिजन जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार पहिलो सेमिफाइनल खेल समुह ‘क’को विजेता न्यू सदाबहार युवा क्लब र समुह ‘ख’को उपविजेता चौतारा स्पोर्टिङ क्लब तथा दोस्रो खेल समुह ‘ख’को विजेता राइजिङ युथ क्लब र समुह ‘क’को उपविजेता साँगाचोक युवा क्लब विच हुने जिल्ला फुटबल संघका उपाध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए ।
उपाध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको फाइनल खेल बुधबार दिनको १ बजे लामोसाँघु स्थित बसन्तपुर खेलमैदानमा हुनेछ ।