माओवादी केन्द्र बागमती प्रदेशमा सरल सहयात्री पौडेल निर्वाचित (नाम लिस्ट सहित)

पुष ६, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार बेलुका भएकोे निर्वाचनमा पौडेलले अर्का प्रतिद्वन्द्वी दिननाथ गौतमलाई दोब्बरको अन्तरले हराउँदै विजयी भएका हुन् ।

मतभार २ सय ७५ रहेकोमा २ सय ५७ मत खसेको थियो । जसमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरेका थिए । खसेको मध्ये ९ मत बदर भएको केन्द्रीय निर्वाचन आयोग बागमति प्रदेश निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा १८ जना प्रदेश सदस्य भने उपस्थित भएनन् ।

बागमति प्रदेश निर्वाचन समितिको अन्तिम मत परिणाम अनुुसार ३ उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको थियो । त्यस्तै सचिव पदका लागि ३ जनाको उम्मेदवारी परेकोमा ईन्द्रबहादुर थिङ( छिनताङ) विजयी बनेका छन् ।

त्यस्तै ३ सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । यसमा ९ जनाको उम्मेदवारी परेको थियो । त्यसैगरी कोषाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेकोमा संगिता भट्टराई निर्वाचित भएकी छिन् । अध्यक्षमा निर्वाचित अध्यक्ष पौडेल सिन्धुपाल्चोकका नेता हुन् । अर्का प्रतिश्पर्धी दिननाथ गौतम भने काभ्रेका नेता हुन् ।

गौतम पुराना तथा स्थापित नेता भएपनि जनमुक्ति सेनामा लामो समय काम गरेका पौडेललाई प्रदेश कमिटिमा निर्वाचित बहुसंख्यक पूर्व जनमूक्ति सेनामा रहेका सदस्यहरु अधिकांशले मत दिएपछि उनी सफल हुन सकेको आंकलन गरिएको छ ।

मंसिर २५ गते भएको प्रदेश अधिवेशनले २ सय ७५ कमिटि छनौट गरेको थियो । अध्यक्ष लगाएत पदाधिकारीमा आकांक्षी धेरै भएपछि प्रदेश कमिटि टुङ्गिन सेकेको थिएन । माओवादी केन्द्रले ७ भौगोकि र ३ गैर भौगोलिक गरी १० प्रदेश कमिटिको फर्मेशन बनाए संगै पुष ११ र १२ गते काठमाडौंमा केन्द्रीय अधिवेशन गर्दैछ ।