
ए डिभिजन जिल्ला लिग फुटबलमा राईजिङ युथ विजयी

पुष ७
अशोक पराजुली, लामोसाँघु । सिन्धुपाल्चोकको लामोसाँघु स्थित बसन्तपुर खेल मैदानमा सुरु भएको जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा राइजिङ युथ क्लबले विजयी सुरुआत गरेको छ।
सोमबार सम्पन्न भएको पहिलो खेलमा राइजिङ युथ क्लबले योङ जेनेरेसन क्लबलाई एक गोलले पराजित गरेको हो । कडा प्रतिस्पर्धाकाबीच सम्पन्न खेलमा जित हात पारेको राइजिङ युथका लागि आवास योन्जनले गोल गरेका थिए ।
त्यसैगरि, आज भएको पहिलो खेलमा साँगाचोक युवा क्लबले कालिका त्रि:शक्ति युवा क्लबलाई एक गोलले पराजित गरेको छ । सुरुवातबाटै कालिका त्रि:शक्तिलाई दबावमा राखेको साँगाचोकका लागि नवीन श्रेष्ठले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफमा कुनै गोल नभएपछि साँगाचोक युवा क्लब विजयी बनेको थियो।
त्यसैगरि, प्रतियोगिता अन्तर्गत आजै सम्पन्न अर्को खेलमा चौतारा स्पोर्टिङ क्लबले न्यु जेनेरेसन क्लबलाई पराजित गरेको छ । चौतारा स्पोर्टिङका उमेश तामाङले चौताराको लागि पहिलो गोल गरेका थिए । त्यस्तै सरोज भुजेलले दोस्रो गोल गरे । त्यस लगत्तै योङ जेनेरेसनका तर्फबाट सुन्दर शेर्पाले गोल फर्काए । निकै प्रतिस्पर्धात्मक खेलमा योङ जेनेरेसनका सुनिल जोशीले अर्को गोल गर्दै खेललाई बराबरीमा रोके । तर चौताराको तर्फबाट प्रकाश थापाले अर्को गोल गर्दै चौतारालाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा चौताराले थप एक गोल गर्दै समुहलाई विजयी बनाए । दोस्रो हाफपछिको गोल चौताराका अनिल अधिकारीले गरेका थिए । अनिलले गोल गरे सगै चौतारा चार दुई गोल अन्तरले विजयी भयो ।
बसन्तपुर खेल मैदानमा जारी जिल्ला लिगका लागि दुई समूहमा ८ वटा क्लबको सहभागिता रहेको छ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेलमा न्यू सदाबहार युवा क्लबले लामोसाँघु फुटबल क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा चौतारा स्पोर्टिङ क्लबले योङ जेनेरेसन क्लबको सामना गर्नेछ। प्रतियोगिता सिन्धुपाल्चोक जिल्ला फूटबल संघको आयोजना, क्षमादेवी ग्रुपको मुख्य प्रायोजन,बलेफी र लिसखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ,ब्ल्याक हर्स सुज को सहयोग र अखिल नेपाल फुटबल संघ( एन्फा )को प्राविधिक सहयोग मा सोमबारबाट सुरु भएको हो ।