भिमेश्वरी माविका प्रधानाध्यापक श्रेष्ठ माथि कुटपिट

रबिन राई पुस ५, (सिन्धुपाल्चोक) ।जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटार स्थित श्री भिमेश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठ माथि निर्घात कुटपिट भएको छ । मादक पदार्थ सेवनगरी विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा गुन्डा शैलीमा पसि सन्तोष दनुवार श्यामले कुटपिट गरेको विद्यालयको आरोप छ । करिब १ बजेको समयमा आफ्नो कार्यकक्षमा पसि दनुवारले आफुलाई आँखा , नाक र छातीमा मुक्का र लातीले हानी चोटपटक लागेको प्रधानाध्यापक श्रेष्ठले बताए ।
विद्यालयका शिक्षकहरुको सहायताले मात्रै आफु बच्न सफल भएको उनको भनाइ छ ।
आफुलाई निर्घात कुटपिट गरे सँगै ज्यान समेत मार्ने धम्की दिएको हुनाले सुरक्षा सुनिश्चितताको निम्ति इलाका प्रहरी कार्यलय नवलपुरलाई निवेदन दिइएको प्रधानाध्यापक श्रेष्ठले बताए ।
त्यस्तै ,उनले शैक्षिक घटना भएकोले कुनै दलीय राजनीति नगरी शैक्षिक नियम अनुसार दनुवारलाई कार्वाही गर्नुपर्नेमा जोड दिए।
घटना पछि बसेको विद्यालय प्रशासन बैठकले दनुवारलाई कानुनी कार्वाहीको प्रक्रिया अघि नबढाए सम्मका लागि पठनपाठनमा रोक लगाइने प्रधानाध्यापक श्रेष्ठले बताए ।
विद्यालयमा घटना घटाउने फरार शन्तोष दनुवार `श्याम´को खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । यस घटनाकाे सम्बन्धमा अाराेपित सन्तोष दनुवार `श्याम´संग बुझ्दा उनले अाफ्नो युनिक दनुवार बर्ष आठको छोरा तीन महिना अघि देखि विद्यालयमा खेल्ने क्रममा खुट्टा भाचिएको सिन्धुज्वालालाई बताए ।
विद्यालय प्राङ्गणमा आफ्नो छोराको खुट्टा भाचिदा सम्म बिद्यालयले कुनै किसिमको सहयोग नगरेको गैर जिम्मेवार बनेको उनको आरोप छ ।
बिद्यालयमा प्रधानाध्यापकलाई सहयोग माग्न जादा प्रधानाध्यापक श्रेष्ठ अश्लील शब्द सहित प्रस्तुत भएको दनुवारले बताए ।
उनले विद्यालयको प्राङ्गणमा छोराको खुट्टा भाचिएको हुदा विद्यालय सँगको सहयोगको अपेक्षाका साथ विद्यालय गएको बताए ।
त्यस्तै विद्यालयमा कुनै किसिमको त्यस्तो घटना नभएको दनुवारले दावी गरे । आफुलाई विद्यालयले लगाएको आरोप झुट भएको उनको भनाइ छ ।
विद्यालयमा अभिभावकले आफ्नो विद्यार्थी प्रतिको चासो राख्ने अधिकार सबैलाई भएको दनुवारले बताए ।