एउटै ढुङ्गामा ८० फिट अग्लो बुद्वको मूर्ति, एशियाकै ठूलो हुने दावी (भिडियो सहित)
दिनेश दुलाल
पुष ४, भोटेनाम्लाङ (सिन्धुपाल्चोक) । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा एउटै ढुङ्गामा ८० फिट अग्लो बुद्वको मूर्ति बन्ने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ भोटेनाम्लाङ, ठूलो ढुङ्गामा बन्न लागेको ८० फिट अग्लो बुद्वको मूर्ति एशियाकै सबैभन्दा ठूलो हुने गाउँपालिकाको दावी छ ।
करिब २ करोड लागतमा निर्माण हुने उक्त मूर्तिको शिल्यान्यास पूर्व मन्त्री एवम् प्रतिनिधिसभा २ सांसद शेरबहादुर तामाङले शनिबार गरेका हुन् ।
सांसद तामाङले झण्डै एकसय फिट ठडिएको विशाल भिमकाय ढुङ्गामा हम्मर र छिनो प्रयोग गरेर मूर्ति निर्माणको शुभराम्भ गरेका थिए ।
उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सांसद तामाङले एउटै ढुङ्गामा कुँदिएर बनाउने मूर्ति विश्वमा अन्यन्त्र भएको आफूले जानकारी नपाएको ठोकुवा गरे । ‘एउटै ढुङ्गामा यति ठूलो विशाल बुद्वको मूर्ति संसारमा कहिँ भएको थाहा छैन्, यो पहिलो ईतिहाँस बन्न सक्छ’, सांसद तामाङले भने ।
हेर्नुहोस भिडियो
गिनिजबुकमा नाम रहन सक्ने दावी गर्दै सांसद तामाङले निर्माण हुनु अघि अन्तराष्ट्रिय टोली मार्फत नापजाँच गरेर सुरुवात गर्न आग्रह गरे । आफूले यसअघि सोही बाटो हुँदै जाँदा यो ढुङ्गामा के बन्न सक्छ भनेर मोबाइल मार्फत भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्मरण उनले सुनाए । सयौंको सल्लाह र सुझाबका आधारमा बुद्वको मूर्ति बनाउने सपना साकार हुन लागेको भन्दै भोटेनाम्लाङ बासीलाई उनले बधाई समेत दिए ।
आफूले सुने अनुसार संसारमा सबैभन्दा ठूलो बुद्वको मूर्ति अफगानिस्थानमा भएपनि तालिवानद्वारा ध्वस्त भईसकेकाले अब बन्ने मूर्ति नै विश्व रेकर्ड रहने गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोको दावी छ । जापनमा निर्माण भएको ६५ फिट अग्लो बुद्वको मूर्ति बनाउने कलाकार पनि आफूसंगै रहेको उनले जानकारी दिए । बुद्वजन्मेको देश नेपालमा सबै भन्दा ठूलो प्रतिमा बनेसगै विश्वभरका मानिसहरु हेर्न आउने उनको कथन छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार गाउँपालिकाले बुद्वको मूर्ति बनाउन लागिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार उक्त मूर्ति बनाउन अनुमानित दुई करोडको डिपिआर गरिएको छ । निर्माण सम्पन्न गर्न दुईवर्ष लाग्ने उक्त मूर्ति बनाउन बागमति प्रदेश सरकारबाट यो आर्थिक वर्षका लागि ५२ लाख बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । मूर्ति बाहेक वरीपरी बंगैचा, रिसोर्ट, मनोरञ्जन स्थल तथा गुफाहरुको संरक्षण गर्न अनुमानित १२ करोड लाग्ने गरी डिपिआर बनाईएको उनले बताए । मूर्ति निर्माणमा समुदायको पनि लगानी र सहकार्य रहने अध्यक्ष लामाको भनाई छ । व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको प्रतिवद्वता समेत आईसकेको उनले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र पाँचपोखरी थाङपाल गाउँपालिकाको संयुक्त आयोजनामा मूर्ति निर्माणको काम सम्पन्न हुने छ ।
मूर्ति निर्माणमा पाँचजना दक्ष कलाकार रहने छन् । मूर्ति विभागका प्रमुख रहेका नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका लालकाजी लामाको संयोजकत्वमा रामचन्द्र पण्डित(उदयपुर), चन्द्रमनी मगर(ईलाम), नर्वु लामा (काठमाडौं) र विजय खत्री बागलुङ सहभागी रहने छन् ।
विभिन्न राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगाएत स्थानीय जनताको बाक्लो उपस्थिति शनिबार दिउस भएको उक्त शिल्यान्यास कार्यक्रम बौद्विक धर्म गुरुले स्वस्तिक बाचन गरी शुभराम्भ भएको हो ।
प्राचिन कालमा चट्याङ परी दुई फँकलेटा बनेको उक्त भिमकाय ढुङगो आधा ठडिएको र आधा जमिन तेस्रिएको छ ।
तेस्रिएको बिशाल ढुङ्गोमा ५ सय जना मानिस एकै पटक बस्न मिल्ने वडा नम्बर ७ का वडाअध्यक्ष सार्की तामाङले जानकारी दिए ।
बुद्वको मूर्ति निर्माण संगै सो स्थानको संरक्षाण संवर्दन गर्न आफू लागि पर्ने उनले बताए ।
गाउँपालिकाको अधिनमा रहेको ऐतिहासिक पाँचपोखरी, थामडाँडा, नाघीडाँडा लगाएत धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण तथा सम्वर्दन गर्न गाउँपालिकाले निरन्तर बजेटको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिए ।