माओवादी केन्द्रको ७ वटै प्रदेश सम्मेलन एकै साथ
मंसिर २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सबै प्रदेश सम्मेलन शनिबारबाट सुरु भएको छ ।
सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुने सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गदघाटन गरेका थिए ।
माओवादी पार्टी कार्यालयका अनुसार ‘प्रचण्ड’ले दिउँसो १ बजे भर्चुअल माध्यमबाट सम्मेलनको उदघाटन गरेका हुन् ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
सो पार्टीका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन भएको हो ।
प्रत्येक प्रदेश सम्मेलनबाट माओवादी केन्द्रले नौ पदाधिकारी सहितको समिति चयन गर्नेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।
प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।