
हेलम्बु घटनाका पीडित परिवारलाई पूर्व सामाजिक विकास मन्त्री दुलालद्वारा राहत

मंसिर ७, तिम्बु (सिन्धुपाल्चोक) । हेलम्बु– ७, सुर्सिङ आगोलागिमा परेका तीन बालकका परिवारलाई पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको पहलमा राहत वितरण गरिएको छ ।
पीडित परिवारलाई क्रिया खर्च वापत नगद ५१ हजार र पचास हजार बराबरको खाद्यान्न, लत्ता कपडा र जस्तापाता लगायत राहत उपलब्ध गराईएको पूर्व सामाजिक विकास मन्त्री दुलालले बताए । उनका अनुसार आर्थिक सहयोग तथा राहत संकलनमा थोप्तेन शेर्पा, पेमा ह्योल्मो, भरत थापा, बलराम वि.क, दिपक लामिछाने, जीवन ह्योल्मो र अर्जुन घोरासैनी लगाएत लागेका थिए ।
घटना यसरी भएको थियो
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना बालकको ज्यान जानेगरी भएको उक्त आगोलागी सोमबार बेलुका ७ बजे भएको हो ।
हेलम्बु गाउँपालिका– सर्सिङ सन्च तामाङको ढुङ्गा माटोले बनेको टिनले छाएको एक तले गोठमा आगो लागि भएको थियो ।
तीन जना बालसाथी बाउआमा खेतबारीमा काम गर्न गएको बेला खेल्दै एक ठाउँमा जम्मा भए र घरसँगै टाँसिएको गोठमा राखिएको ढोड र खोस्टामा आगो बाले । जब आगो सल्कियो बालकहरू बाहिर गए अरुले देख्ने डरले गोठ भित्र पसेर थुपारिएको ढोडको थुप्रोमा लुके । आगो दन्कदै गयो । गोठभित्र अक्सिजन सकियो र कार्वन भरियो ।
नाबालक बच्चा अक्सिजन कमीले आलसतालस भए र दन्किएको आगोले अबोध र निर्णयहिन बालकलाई क्षण भरमै डढायो र सहाराहिन अवस्थामा अकल्पनीय पीडा खप्तै तीन बालकको जीवन लिला समाप्त पारिदियो । घरमा आगो लागेको केही समय पछि मात्र गाउँलेले थाहा पाएका थिए । त्यसपछि त्यहाँ गएर गाउँलेहरुले आगो निभाए । पछि मात्र बच्चा हराएको गाउँलेले थाहा पाएका थिए । बच्चा खोज्दा आधा भन्दा बढि डढेको र मृत अवस्थामा तीन बालक खरानी भित्र भेटिए ।
।
सन्च तामाङको छोरा बर्ष ६ को मनोज तामाङ, सोहीका सुकुमान तामाङको छोरा बर्ष ५ को मनिस तामाङ र सोहीका साईला तमाङको छोरा बर्ष ५ को दिल ब.तामाङको उक्त आगो लागिमा परी मृत्यु भएको हो । स्थानिय र प्रहरीको सहयोगमा आगलागि पूर्ण रुपमा नियन्त्रणमा आएको घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए ।