माओवादी केन्द्रको देशभर वडाअधिवेशन, सिन्धुपाल्चोकमा ९५ वडा सम्पन्न
सिन्धुज्वाला, मंसिर ४
चौतारा । नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन सम्पन्न गरेको छ ।
जसअनुसार सिन्धुपाल्चोकमा ९५ वडामा वडा अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्र जिल्ला समन्वय कमिटि सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
‘जिल्लामा १०३ वडा मध्ये ९५ वडामा आज अधिवेशन सम्पन्न गर्न सफल भयौं’, जिल्ला समन्वय कमिटिका संयोजक पराजुलीले भने । उनका अनुसार अब ८ वटा वडामा मात्र वडा अधिवेशन गर्न बाँकी छ । जस मध्ये चौतारा साँगाचोकगढीको २, जुगलको २, बाह्रबिसेको ३ र सुनकोशीको १ वटा वडा अधिवेशन हुन बाँकी रहेको छ । बाँकी रहेको वडाको पनि १० गते भित्र अधिवेशन सम्पन्न गरिसक्ने उनले बताए । संयोजक पराजुलीका अनुसार ९५ वडामा अधिवेशन सम्पन्न भईसक्दा २ हजार ७ सय ५५ जना वडा कमिटिमा आवद्व भएका छन् । त्यसको दोब्बर संख्यामा जनवर्गीय जनसंगठनहरु निर्माण गरिएको उनले जानकारी दिए ।
९५ वडामा आज भएको अधिवेशनमा वडा कमिटि देखी जनवर्गीय संगठनहरु सर्वसहमतिमै निर्वाचित भएको सो पार्टीले जनाएको छ ।
माओवादी जिल्ला निर्वाचन आयोगका अनुसार जिल्लाभरी १९ हजार भन्दा बढी पार्टी सदस्य रहेका छन् । देशभरि भने पार्टी सदस्य करिब ८ लाख पुगेको सो पार्टीले जनाएको छ ।
माओवादी केन्द्रको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको थियो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाएको हो ।
११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुने सो पार्टीले जनाएको छ ।
यसैबीच जिल्लामा १०३ वडा मध्य माओवादी केन्द्रको पार्टी सदस्य संख्या १३ नम्बर वडामा सबैभन्दा बढी देखिएको छ । त्याहाँ ६ सय ९८ पार्टी सदस्य संख्या रहेको वडा पार्टीले जानकारी दिएको छ । उक्त वडाले आज भव्यताका साथ वडा सम्मेलन सम्पन्न गरेको जनाएको छ ।
जिल्ला समन्वय कमिटिका संयोजक गोविन्द पराजुली प्रमुख अतिथि रहेको उक्त अधिवेशनबाट नारायण प्रसाद गौतमको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको सो पार्टीले जानकारी दिएको छ ।