पार्टी सदस्य संख्याको हिसाबले सिन्धुपाल्चोकमा सबभन्दा ठूलो पार्टी ‘माओवादी केन्द्र’

कार्तिक २७, चौतारा (सिन्धुपाल्चोक) । पार्टी सदस्यता संख्याको हिसाबले सिन्धुपाल्चोकमा सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र देखिएको छ ।
जिल्लाका तीन ठूला पार्टी नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को हालै सम्पन्न पार्टी सदस्यता वितरण प्रक्रियाको सर्वक्षण गर्दा तीन ठूला पार्टी मध्ये माओवादी केन्द्र सदस्य संख्याको हिसाबले सिन्धुपाल्चोकमा सबैभन्दा ठूलोे पार्टी देखिएको हो ।

आफ्नो पार्टीको कम्युटरमा समावेश गरिएको सदस्य मात्रै १६ हजार ६ सय २० रहेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली ‘अविनाश’ ले जानकारी दिए । ‘हाम्रो पार्टीको २० हजारको हाराहारीमा पार्टीको सदस्य छन् कम्युटरमा ईन्ट्रि भएका मात्र साँढे १६ हजार भन्दा माथि छन्’, जिल्ला संयोजक पराजुलीले भने ।

उनका अनुसार पार्टीका कार्यकर्ताहरुलाई सदस्यता भर्ने समय कार्तिक २५ गते सम्म थियो । केन्द्रीय सर्कुलर अनुसार त्यो अवधि सम्मको पार्टी सदस्यता कम्युटरमा समावेश गर्दा १६ हजार ६ सय २० मात्र आधिकारिक देखिएको पराजुलीको भनाई छ । गत बर्षहरुमा भन्दा यस पटक पार्टीको माहाधिवेश नै हुने भएपछि एकचाथाईले सदस्य संख्या बढेको सो पार्टीले जनाएको छ ।

यसैगरी पार्टीको संगठित सदस्य संख्या र निर्वाचन परिणामको हिसाबले ठूलो पार्टी रहेको नेकपा (एमाले) यसपटक सदस्य संख्याको हिसाबले दोस्रो पार्टी देखिएको छ ।

एमाले साविककै अवस्थामा फर्किएसंगै आफ्नो पार्टीको सदस्य संख्या १५ हजार ३ सय ५६ रहेको नेकपा (एमाले) जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए ।
‘यो पुरानै सदस्य संख्या हो, यसमा केही बढ्न सक्छ’, अध्यक्ष नेपालले भने । उनका अनुसार माओवादी केन्द्र तथा अन्य पार्टीबाट एमालेमा गएका सदस्यहरुको संख्या समावेश हुन बाँकी रहेको छ । तर एमालेबाट फुटेर गएको नेकपा ( एकीकृत समाजवादी पार्टीमा कति सदस्य गएका छन् भन्ने कुरा एमालेमा कुनै अत्थ्य विवरण छैन । एकहजार भन्दा बढि सदस्य संख्या घट्न सक्ने केहीले अनुमान लगाएका छन् । उता एमालेले भने केही सदस्य अदलबदल भएपनि १९ हजार आफ्नो पार्टीको सदस्य संख्या रहेको दावी गरेको छ । यद्यपि दावी गरेको अनुसारको कुनै आधिकारिक प्रमाण उ संग छैन् । जिल्ला अध्यक्ष नेपालले दिएको हालैको संख्या अनुसार एमाले सिन्धुपाल्चोकमा माओवादी केन्द्र पछिको सदस्य ज्यादा भएको दोस्रो पार्टी भएको छ ।

यसैगरी केन्द्रमा समेत दोस्रो ठूलो पार्टी रहेको नेपाली कांग्रेस सिन्धुपाल्चोकमा भने तीन ठूला पार्टी मध्य सदस्य संख्याको हिसाबले तेस्रो ठूलो पार्टी बनेको छ ।

आफ्नो पार्टीको क्रियासिल सदस्य संख्या सिन्धुपाल्चोकमा १२ हजार ५ सय रहेको नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव बिलबहादुर तामाङले जानकारी दिए । ‘जनताको मास बेस’ प्रति विश्वास गर्ने कांग्रेस सिन्धुपाल्चोकमा मत परिणामका हिसाबले यस अघिको निर्वाचनमा दोस्रो ठूलो पार्टी बनेको थियो ।

स्थानीय तह देखि केन्द्रीय माहाधिवेशनको चटारोमा लागेको एमाले, कांग्रेस र माओवादी केन्द्र आफ्ना कार्यकर्तालाई संगठित गर्ने अभियानमा जोडतोडका साथ लागेका छन् । झण्डै आधा दर्जन टुक्रामा विभाजित बनेको माओवादी केन्द्रले भने निकै मिहिनेतका साथ कार्यकर्तालाई गोलबन्द गर्न तथा जनतालाई आफ्नो प्रभावमा पार्न सफल भएको छ ।

स्थानीय निर्वाचन लगाएत प्रदेश र केन्द्रको समेत निर्वाचनको चर्चा सुरु भएसंगै सिन्धुपाल्चोकमा कस्ले बाजी मर्ला ? त्यो भने निर्वाचनले पुुष्ट्याउने छ ।