सिन्धुपाल्चोकमा सफ्ट लकडाउन, देउसीभैलो खेल्न प्रतिबन्ध !

कार्तिक १८, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पछिल्लोपटक जिल्लामा कोभिडको संक्रमित बढेको भन्दै सफ्ट लकडाउनको अवधारणा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक
फोटो ःफाईल तस्बिर

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आउन केही दिन बाँकी रहँदा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक १५ गते राती १२ बजे देखि कार्तिक ३० गते राती १२ बजेसम्म समयसीमा तोकी सफ्ट लकडाउन गरेको हो । जिल्ला प्रशासन कार्यालयको यो निर्णय संगै सिन्धुपाल्चोभर तिहारमा देउसी खेल्न रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यलयबाट जारी आदेशमा भनिएको छ –‘संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी ‘सफ्ट लकडाउन’ गर्ने निर्णय गरिएको छ ।’

जिल्ला प्रशासन कार्यालयको जारी आदेश अनुसार लकडाउन अवधिभर अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुश गर्ने, जात्रा महोत्सब, भोज आदि नगर्न, तिहार, छठ आदि, स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा परिवार भित्र मात्रै मनाउन, देउसी, भैलो, नाटक, नाचगान नगर्न भनिएको छ ।

त्यस्तै होटल व्यवसायहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न, सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिबिधिहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न, स्थानीय तहहरुले आ–आफ्नो क्षेत्र भित्र कोभिड– १९ संक्रमण जोखिमको अवस्था मूल्याङ्कन गरी निषेधाज्ञा थप भएमा सो को लागि जिल्ला कोभिड– १९ व्यवस्थापन समितिमा स्मार्ट लकडाउन कार्यबिधि २०७८ बमोजिम सिफारिस गर्न समेत प्रशासन कार्यलयले भनेको छ ।

जिल्ला प्रशासन कार्यालयको यो निर्णय आय संगै कोभिडका कारण दुईवर्ष देखि तिहारमा देउसीभैलो खेल्न नपाएका तर यसपाली खेलेर रमाईलो गर्ने जिल्लाबासीहरुका लागि पुनः खल्लो भएको छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालयले निकालेको जारी आदेश ः