
समाजवादी अर्थनीति अनुसार जनतामा सेवा प्रवाह गर्न बैंकहरुलाई सभामुखको जोड

दिनेश दुलाल
कार्तिक १३, चौतारा । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादी अर्थनीति अनुसार जनतामा सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाएका छन् ।
जिल्ला सदरमुकाम चौतारामा स्थपना भएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौतारा शाखा उदघाटनको क्रममा सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
शनिबार शाखा उद्घाटन गर्न सदरमुकाम चौतारा पुगेका कार्यक्रमका प्रमुख अतिथि सभामुख सापकोटाले नयाँ संविधानमा समाजवादको अर्थनीति उल्लेख भएकोले नेपाल सरकारको योजना अनुसार ‘सुखी नेपाली र समृद्व नेपाल बनाउनको लागि आर्थिक विकास आवश्यक रहेको औंल्याए । बैंक तथा वित्तीय संस्थाहरुले कसरी सेवाग्राहीलाई ठिक ढंगले सेवा दिन सक्छन त्यहि आधारले नै जनताको जीवनस्तर विकास हुने कुरा उल्लेख गर्दै सभामुख सापकोटाले भने, ‘अब जनताको जीवनस्तरमा कति परिवर्तन गर्न सकिन्छ त्यो महत्वपूर्ण हुन्छ ।’
सिन्धुपाल्चोक जिल्ला किसानहरुको बाहुल्यता रहेको जिल्ला भएकाले राष्ट्रिय वाणिज्य बैंक मार्फत सेवा प्रवाह गरेर किसानहरुको जीवनस्तर उठाउन आवश्यक रहेको उनले औंल्याए ।
मुलुक डिजिटल क्रान्तिको युग भएपनि आवयक सावाधानी नहुँदा दुर्घटना हुने गरेको उल्लेख गर्दै सभामुख सापकोटाले सहि सदुपयोग गर्न सुझाए । संघीय संसदबाट राष्ट्रिय वाणिज्य बैंकलाई नै प्राथमिकता दिनुपर्छ भनेर आफू लागेको प्रति स्मरण गर्दै सभामुख सापकोटाले भने, ‘हाम्रो योजना भनेको सरकारी बैंकलाई जोड दिन्छौं अरुलाई ध्यान दिन्छौं ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनीधि खनालले चौतारामा स्थपना भएको राष्ट्रिय वाणिज्य बैंकले आयआर्जन तथा व्यापारिक प्रयोजनसंग सम्बन्धित रहेर कर्जा प्रवाह गर्न सुझाए ।
कार्यक्रममा सहभागी विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले समेत वाणिज्य बैंकलाई किसानमुखी सेवा प्रवाह गर्न आग्रह गरे ।
कार्यक्रमका सभापति तथा राष्ट्रिय वाणिज्य वैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक जनताको बैंक भएकोले वित्तीय क्षेत्रलाइ विस्तार गर्न देशका दुर्गम ठाउँहरुमा समेत सेवा प्रवाह गरिएको बताए ।
वाणिज्य वैंकले आगमी दिनमा ९ सय युवाहरुलाई रोजगारी समेत दिलाउन लागिएको उनले जानकारी दिए । उनका अनुसार उक्त वैंकले ७ प्रदेशमा ७७ वटै जिल्लामा देशभर २०५५ वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको छ । सर्वसाधारणमा वित्तीय पहुँच बढाउने र नागरिकहरुलाई संस्थागत बैंकिङको सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा २०२२ सालमा स्थापना भएको हो । बैंकले २१७ वटा एटियम, ९८ वटा बिलबी, ३९ वटा एक्टेन्सन काउण्टरबाट सेवा प्रवाह गर्दै आएको छ ।
७७ वटै जिल्ला सदरमुकाममा शाखा स्थपना गरी आर्थिक गतिविधिहरु बैंकिङ प्रणाली मार्फत सञ्चालन गर्न तथा उद्योग व्यवसाय वाणिज्य क्षेत्रलाई संगठित बैंकिङ सेवा उपलब्ध गराउने योजना अनुरुप सिन्धुपाल्चोकको चौतारामा समेत स्थपना गरिएको वाणिज्य वैंकले जनाएको छ ।
वाणिज्य बैंकले अन्य वाणिज्य बैंक भन्दा सुलभ दरमा कर्जा प्रवाह गरिरहेको चौतारा शाखाकी प्रवन्धक रत्न शाक्यले बताईन । उनका अनुसार नेपाल सरकारका नीति तथा कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखि कार्यान्वयन गर्दै आईरहेको राष्ट्रिय वाणिज्य बैंकले राजश्व संकलन गर्ने, सरकारी खर्चको भुक्तानी गर्ने, सामाजिक सुरक्षा भत्ता पेन्सन लगाएतका सुविधाहरु प्रदान गर्ने कार्यहरु गर्दै आएको छ ।
३६ लाख भन्दा बढी ग्राहकहरु भएको उक्त वैंकले गत दुई वर्षमा सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको बताएको छ ।