फस्टाउँदै अवैध स्वास्थ्य संस्था, गैरकानुनी रुपमा सञ्चालित दुई औषधी पसल माथि एक्सन (फोटो फिचर सहित)
कार्तिक १२, बाह्रबिसे (सिन्धुपाल्चोक) पछिल्लोपटक मानव स्वास्थ्य जीवन माथि नै खेलबाड गर्ने गरी जिल्लामा अवैध स्वास्थ्य संस्था फस्टाउन थालेका छन् ।
त्यस्ता अवैध स्वास्थ्य संस्था जिल्लाको व्यापारिक केन्द्र बाह्रबिसेमा भेटिएको हो । बाह्रबिसे नगरपालिका अन्र्तगत बाह्रबिसे बजारमा गैरकानुनी रुपमा सञ्चालन गरिएका दुई औषधी पसललाई प्रतिवन्ध लगाईएको छ । सम्भव त सिन्धुपाल्चोकमा अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थामाथि गरिएको कारवाही पहिलो एक्सन हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा बनेको अनुगमन टोलीले गरेको आकास्मित अनुगमनमा बाह्रबिसे नगरपालिका– ४ मा रहेको दीयाना फार्मेशी र बाह्रदेबी हेल्थ क्लिनिकलाई बन्द गरेको हो । व्यवसाय दर्ता र औषधी बिक्री दुबै अनुमती वेगर सञ्चालनमा आएका त्यस्ता किल्निक तथा औषधी पसल बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जानकारी दिए ।
यसअघि पनि नगरपालिकाको तर्फबाट पटक–पटक सचेतना गराँउदा पनि त्यस्ता संस्थाले अटेर गरेर गैरकानुनी तवरले सञ्चालन गरेपछि कारबाहीको प्रक्रिया थालिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । ‘हामीले नगरपालिकाको तर्फबाट पटक–पटक संस्था वा व्यक्तिगत व्यवसाय दर्ता तथा नविकरण गर्न आग्रह गरेका थियौं, तर केही औषधी पसलहरुले गरेको पाईएन’, नगर प्रमुख शेर्पाले भने । राजनीति आडमा केही व्यक्तिहरुले म्याद गुज्रेका औषधी समेत विक्री गरिएको नगर प्रमुख शेर्पाको आरोप छ ।
जिल्ला प्रशासनको अगुवाईमा चौतारा अस्पताल, नेपाल प्रहरी तथा पत्रकार माहासंघको प्रतिनिधित्व रहेको टोलीले बुधबार अनुगमन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले सिन्धुज्वालालाई जानकारी दिए । आकास्मित रुपमा अनुमनमा गएका थियौं । उनका अनुसार टोलीले बाह्रबिसे, लामोसाँघु र खाडीचौरमा भएका अस्पताल, मेडिकल लगाएत स्वास्थ्य प्रदान गर्ने निजी गैरसरकारी संस्थाहरु १३ वटा संस्थाको अनुगमन गरिएको थियो ।
जसमध्ये बाह्रबिसेका बाह्रदेवी हेल्थ किल्निक र दियाना फार्मेसी दुईवटा संस्थाले अनुमति बिना नै सञ्चालनमा ल्याएको प्रत्यक्ष फेला पारेपछि प्रतिबन्द लगाईएको उनले बताए । अवैधानिक रुपमा रहेका दुई संस्थालाई वैधानिकताको लागि प्रक्रिया अगाडि बढाउन र स्विकृत प्राप्त भएपछि मात्रै सञ्चालनमा ल्याउन सुझाब दिएको उनले बताए । १३ वटा मध्ये ३ वटा स्वास्थ्य संस्थाहरु सबै हिसाबले प्रक्रिया पुरा गरको पाईएको समेत उनले बताए । उनका अनुसार बाँकीमा भने संस्था नविकरणको प्रक्रियामा नगएको पाईएको हो ।
त्यस्तै बाह्रबिसेमा सञ्चालनमा रहेको किस्टोन अस्पतालमा ५१ वेडको अस्पताल भनिए पनि प्रक्रिया अनुसार नरहेको पाएको छ । उनका अनुसार स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक कागजात नपुगेकाहरुले अनुगमन गरिएको भोलिपल्टै जिल्ला प्रशासन कार्यालय आएर पेश गरेका थिए । कतिपय संस्थाले फार्मेसी सञ्चालनको अनुमति पाएपनि पोलिक्लिनिक सञ्चालन गरिएको पाईएको छ ।
औषधी ब्यवसायी तथा क्लिनिकहरुले चरम लापरवाही तथा गैरकानुनी रुपमा सञ्चालनमा आएको भन्ने नागरिकबाट जनगुनासो आएपछि अनुगमन गरिएको जनस्वास्थ्य अधिकृत चापागाँईको ठहर छ । मेलम्ची लगाएत जिल्लाका अन्य ठाउँहरुमा समेत अनुगमन गरिने उनले बताए ।
सिन्धुपाल्चोकमा सरकारी अस्पताल बाहेक फार्मेशी, प्राईभेट किल्निक तथा अस्पतालहरु अनुमानित २ सय भन्दा माथि रहेका छन् । तर यसको सही तथ्याङक् भने न स्थानीय तहमा छ न जिल्ला स्वास्थ्य कार्यालयमा नै । जिल्लामा सञ्चालित मेडिकलहरु औषधी व्यवस्था विभागबाट सिधै अनुमति प्राप्त गरेर सञ्चालन गरिएकाले जिल्ला स्वास्थ्य कार्यालयमा तथ्याङ्क नआईपुगेको जनस्वास्थ्य अधिकृत चापागाँईको भनाई छ ।