कुविण्डेमा एमालेलाई पहिलो गाँसमै ढुङ्गा, घोषणा गरिएकालेनै अस्विकार गरे वडा अध्यक्ष पद

कार्तिक ७, कुविण्डे (सिन्धुपाल्चोक) । नेकपा (माओवादी केन्द्र) को गढ मानिएको कुविण्डेमा नेकपा (एमाले) ले आफ्नो संगठन निर्माणको प्रयास थालेको छ । तर प्रयासमै एमालेलाई पहिलो गाँसमै ढुङ्गा सावित भएको छ ।

शनिबार देशभर भएको वडा अधिवेशन चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा पनि थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा १ (ख) का प्रदेश सांसद सरेश नेपाल थिए । तर उनी प्रमुख अतिथि रहेकै वडाअधिवेशन निकै विवादस्त बन्यो । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा वडा कमिटि अध्यक्षनै ‘झुक्याएर’ बनाएको सांसद नेपाल माथि आरोप लाग्यो ।

वडा अध्यक्ष घोषणा गरिएका रुद्रप्रसाद सापकोटाले साँझ नै विज्ञप्ति जारी गरेर आफूलाई एमालेको वडाअध्यक्ष बनाईएकोमा आपत्ती जनाए ।
सापकोटाको विज्ञप्ति आएसंगै एमालेको नियत र सांसद नेपाल प्रति नै आशंका जन्मिएको सोहीका एक कार्यकर्ताले सिन्धुज्वालालाई बताए । ‘अर्को पार्टीका संगठित कार्यकर्तालाई जर्वजस्ती अध्यक्ष घोषणा गर्नु नै सबभन्दा ठूलो कमजोरी हो’, ति कार्यकर्ताले नाम नछाप्ने शर्तमा सिन्धुज्वालासंग भने ।

माओवादी केन्द्रले समेत सापकोटा आफ्नो पार्टीको संगठित सदस्य भएको स्विकारेको छ । ‘उहाँ हाम्रो पार्टीको संगठित सदस्य हुनुहुन्छ, एमालेले आफ्नो ठान्नु गलत भयो’, वडा नम्बर ४ का वडाअध्यक्ष चुडामणी नेपालले सिन्धुज्वालासंग भने ।

उनका अनुसार वडाअध्यक्ष घोषणा गरिएका सापकोटाले एमालेले आफूलाई ‘झुक्याएर’ अध्यक्ष बनाएको भन्दै शनिबार साँझ नै विज्ञप्ति मार्फत आपत्ति जनाएका थिए । सापकोटाले हस्तलिखित प्रेस विज्ञप्तीमा भनेका छन्– ‘म रुद्रप्रसाद सापकोटा चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेको नेकपा (एमाले) को जिम्मेवार व्यक्तिहरुले तपाईसंग छलफल छ भनी बोलाएर त्याहाँ मलाई वडाकमिटि अध्यक्ष बनाएता पनि उक्त पार्टी प्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा (माओवादी) केन्द्रको सदस्यता यस अघिनै नविकरण गरिसकेकोले सम्पूर्ण वडाबासीहरुमा अवगत गराउँदै अनाबश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।’

आफु एमालेको वडाअध्यक्ष नरहेको वक्तव्य निकालेका सापकोटासंग प्रतिक्रिया माग्दा उनले आफूले निकालेको वक्तव्य नै आधिकारिक भएको भन्दै थप कुरा गर्न चाहेनन् ।

उता नेकपा (एमाले) ले भने सापकोटा आफ्नो पार्टीको पुरानो संगठित कार्यकर्ता भएकोले वडाअध्यक्षको जिम्मेवारी दिएको बताएको छ ।
‘उहाँ हाम्रो एमालेको २०५१ साल देखिको संगठित सदस्य हो उहाँसंगकै सल्लाहमा वडाअध्यक्षको जिम्मेवारी दिएका हौं’, एमाले जिल्ला नेता यज्ञ सापकोटाले सिन्धुज्वालासंग भने । पारिवारिक दवावका कारण यस्तो विज्ञप्ति निकालेको हुनसक्ने नेता सापकोटाको ठहर छ ।

एमालेले शनिबार मात्रै जिल्लाका ९५ स्थानीय तहमा वडाअधिवेशन सम्मपन्न गरिसकेको बताएको छ । ८ ठाउँमा भने विवादका कारण हुन नसकेको बताईन्छ । कुविण्डेमा वडाअध्यक्ष बनाईएका सापकोटाको विज्ञप्ति पछि उक्त वडा समेत विवादमा परेको छ ।

यस्तो छ वक्तव्य ः