जिल्लाकै नमुना बन्दै कुविण्डेको दुग्ध उत्पादक सहकारी, साधारणसभाद्वारा किसानमैत्री कार्यक्रम

कार्तिक ४, चौतारा (सिन्धुपाल्चोक) । उसै त ‘कुविण्डे’ राजैनैतिक पृष्टभूमि बोकेको जिल्लाकै चर्चित नाम हो । जनयुद्वको उर्वरभूमि मानिएको कुविण्डे सभामुख देखि राजनेता उत्पादन गर्ने थलोका रुपमा परिचित छ । विगतका आन्दोलनहरुमा त्याग, तपस्या र बलिदानीपूर्ण संघर्षको थलोको रुपमा मात्र होईन मिहिनेतपूर्व कृषि उपार्जन गर्ने ठाउँको रुपमा कहलिएको छ ।

कुविण्डे दुग्ध उत्पादक सहकारीको २९ औं साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटा
(फाईल तस्विरः श्रीधर न्यौपाने)

आलु उत्पादनको पकेट क्षेत्र रहेको कुविण्डे किसानलाई आत्मनिर्भर बनाउने जिल्लाकै बढी दुध उत्पादन हुने क्षेत्रको रुपमा समेत चर्चामा छ ।
सोहीका मिहिनेती किसानहरुलाई लक्षित गरी निर्माण गरिएको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो २९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

२०४९ सालमा स्थपना भएको उक्त सहकारीको वार्षिक साधारणसभाको बुधबार सभामुख अनिप्रसाद सापकोटाले उदघाटन गरेका हुन् । २९ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै सभामुख सापकोटाले कुविण्डे दुग्ध उत्पादक सहकारी जिल्लाको नमुना बन्न सफल भएकोमा धन्यवाद दिए ।


कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख सापकोटाले संघीय राज्यबाट सहयोग पुग्ने प्रतिवद्वता समेत जनाए । किसानहरुलाई माथि उठाउन सकिए मात्रै मलुकको विकास समृद्विमा टेवा पुग्ने भन्दै सभामुख सापकोटाले अझै किसानमैत्री कार्यक्रम ल्याउन सुझाब दिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण प्रसाद सापकोटा लगाएत नेताहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गोरखबक्स गणका गणपति लगाएत राजनैतिक दलका प्रतिनिधि सहभागी थिए ।
सोही कार्यक्रमको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले वार्षिक ५ सय भन्दा माथि दुध उत्पादन गर्ने किसानलाई प्रति लिटर ३ रुपैया दरले अनुदान दिने घोषणा गरे ।

त्यस्तै प्रदेश सरकारद्वारा प्रति लिटर २ रुपैंयाको दरले अनुदान दिने यस अघि नै घोषणा गरिएको संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए । उनका अनुसार सहकारीले आफ्नै खर्चबाट किसानलाई प्रति लिटर २ रुपैंया अनुदान दिने गरेको छ ।

सहकारीले आगमी वर्षको कार्ययोजना पारित गरि कार्यक्रमहरु किसानमुखी राखिएको संस्थाका अध्यक्ष सापकोटाको दावी छ ।
त्यस्तै सहकारीले कोल्डस्टोर निर्माणका लागि पहल गर्ने, जटिल बिरामीहरुलाई सहकारी मार्फत उपचार खर्चको सहयोग गर्ने तथा सहकारीमा आवद्व किसानहरुको आयस्तरमा वृद्वि गर्ने लगाएतका महत्वपूर्ण योजनाहरु पारित गरिएको भएको उनले जानकारी दिए ।

यसैबीच उक्त सहकारी स्थपना पहल गर्ने ३४ जना किसानलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । त्यसैगरी जग्गा दाता तथा संस्थापकहरुलाई समेत सम्मान गरिएको सापकोटाले जानकारी दिए ।

शेयर सदस्य ७ सय ९७ रहेको संस्थाको ६ करोडको वार्षिक आयव्याय सार्वजनिक गरिएको थियो । त्यस्तै निक्षेप बचत ३ करोड ८४ लाख रहेको संस्थाले सोही अनुपातमा ऋण प्रवाह गरिएको संस्थाले जनाएको छ ।