साँस्कृतिक पर्वलाई एकता र सामाजिक सदभावको रुपमा उपयोग गर्न सभामुख सापकोटाको जोड
असोज २७, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दशैंको अवसरमा शुभकामना दिँदै चाडपर्वहरूले मौलिक नेपाली संस्कृति एवं नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र विविधताको प्रतिनिधित्व गर्ने बताएका छन् ।
शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले दशैं, तिहार, छट लगाएतका चाडपर्वहरुले हामी बीचको एकता, आपसी हित, सामाजिक सदभाव एवम व्यक्ति परिवार र समाजलाई संयोजन गर्दै आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘चाडपर्वहरूको अवसर पारेर हुने परिवार एवं आफन्त भेटघाट, छलफल र भलाकुसारीहरु पारिवारिकदेखि सामाजिक क्षेत्रको सकारात्मक परिवर्तनका योजना निर्माणका लागि समेत महत्त्वपूर्ण सावित हुने र यसले सबैमा सकारात्मक सोच पैदा गर्ने विश्वास लिएको छु ।’
यस्ता अवसरहरूबाट देशमा समृद्धिको जग बसाल्ने विषयमा गम्भीर भएर सोच्न, थप रचनात्मक बन्न सबै उमेर समूहका आमनागरिकलाई प्रेरणा मिल्ने अपेक्षा पनि गरेको पनि सापकोटाले बताएका छन् ।
करीब दुई वर्ष यता महामारीका रुपमा रहेको कोभिड–१९ केही मत्थर भएजस्तो देखिए पनि चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन पनि सापकोटाले सबैमा अपिल गरेका छन् ।