भोटेकोशी गाउँपालिकाद्वारा भूकम्प पीडितलाई दशैंमा घर उपहार !


असोज २८, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिकाद्वारा भूकम्प पीडितलाई दशैंमा घर हस्तान्तरण गरेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित भई स्थानान्तरण भएका भोटेकोसी गाउँपालिका वडा नंं ३ का ९० परिवारले दशैंमा स्थायी घर पाएका हुन् । द्धारिकाज फाउन्डेसनले भूकम्प पीडितको लागि निर्माण गरिएको घर गाउँपालिकाले दशैंको पूर्व सन्ध्यामा लाभग्राहीहरुलाई हस्तान्तरण गरेको हो ।

द्धारिकाज फउन्डेशनले निर्माण गरिएको नीजि आवास लाभग्राहीलाई हस्तान्तरण गर्दै पालिका अध्यक्ष राजकुमार पौडेल तथा संस्थाका प्रतिनिधि

सोमबार भूकम्प पीडितहरूको लागि नयाँ घरमा सर्नको लागि चाबी हस्तान्तरण संस्थाकी उपाध्यक्ष संगिता श्रेष्ठ र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई आवास हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पले घर भत्किए पछि टहरोमा बसिरहेका भोटेकोसी गाँउपालिकाका दुगुना, थाङसुर, विक टोल र यार्मासिङका ९० घरधुरीलाई संस्थाले आवास निर्माण सम्पन्न गरी चाबी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार विगत ६ वर्ष सम्म जस्ताको टहरामा दशैं मनाइरहेका भोटेकोसी गाउँपालिका वडा नं. ३ का ९० घरधुरीले स्थायी आवास पाएका छन् ।

द्धारिकाज फउन्डेशनले जिम्मा लिएको ९० घर पुनर्निर्माण सम्पन्न भएसंगै भोटेकोसी गाउँपालिकाको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले गाउँपालिकालाई छिट्टै नै पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्ने तयारी रहेको गरेको छ ।

५ वर्ष सम्म जस्ताको टहरोमा बसेर कष्टकर जीवन बिताइरहेकी छिरिङ शेर्पाले दशैं अघि नै नयाँ पक्की घर पाउँदा निकै खुशी मिलको बताइन् ।

पहिला झुप्रो घरमा बस्नु परेकोमा समस्या सुनाउँदै स्थानीय कान्छी बिकले भनिन् ‘यो सालका दसैँमा थप खुसी मिलेको छ, दसैँमा पाउना आउँदा आनन्दसँग राख्न सकिन्छ ।’

संस्थाका अनुसार उसले प्रतिघर निर्माण सम्पन्न गर्न ८ लाख ६७ हजार रुपैयाँ खर्च गरको हो । प्रत्येक घरधनीको ३० दिनको श्रमदान अनिवार्य गर्नुपर्ने सर्तका साथ सम्झौता गरेको संस्थाले सम्झौता गरेको ४ वर्षमा पीडितलाई आवास हस्तान्तरण गर्न सफल भएको हो । संस्थाले पुनर्निर्माण प्राधिकरणले दिएको लिस्टको आधारमा मात्रै आवास निर्माण गरेको संस्थाले जानएको छ ।