
मेलम्ची–शिखरपुर सडक जोडियो, सदरमुकाम आउन सहज

मेलम्ची र शिखरपुर जोडिने ईन्द्रावती नदिमा राखिएको अस्थायी ’ह्युम पाइप’
असोज २१, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची बाढीले पुल नै बगाएर आवात जावात बन्द भएको मेलम्ची–शिखरपुर अस्थाई ’ह्युमपाइप’ राखिए पछि जोडिएको छ । गत असार १ र १६ गते आएको बाढीले शिखरपुर जोडिने पुल बगाएको थियो । मेलम्चीबाट शिखरपुर हुँदै सदरमुकाम आईपुग्न प्रयोग भएको मोटरवेल पुल बाढीले बगाएपछि सर्वसाधारणलाई निकै सकस परेको थियो ।
हेलम्बु र मेलम्चीका सर्वसाधारणलाई राहदानी, नागरिकता तथा मालपोत कार्यालयमा सेवा लिन आउन उक्त पुल नहुँदा जिरोकिलो हँुदै आउन पर्ने वाध्यता थियो । तर बुधबार पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको सक्रियता र पहलमा ‘ह्युमपाइप पुल’
राखिएपछि यतायातका साधन लगाएत सर्वसाधारणलाई इन्द्रावती नदि पार गर्न सहज भएको छ ।
अस्थायी ‘ह्युमपाइप पुल’ राखिएपछि मेलम्ची–शिखरपुर सडक जोडिएर हिजो बेलुका दखिनै आवातजावतमा सुचारु भएको प्रतिनिधिसभा २ (क) सांसद एव पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । उनका अनुसार अस्थायी ‘ह्युमपाइप पुल’ को लागी स्थानीय व्यापारी, विभिन्न संगठनमा आवद्व युवा, तथा पार्टीका कार्यकर्ता, सेना तथा प्रहरीको सहयोगमा निर्माण भएको हो ।
स्थानीयका अनुसार बर्षा सकिएसंगै अस्थाई ‘ह्युमपाइप पुल’ राखिएपनि अर्को बर्षा सम्म थेग्दैन । पक्की मोटरवेल पुल लगाएत भौतिक संरचना निर्माणको लागि नेपाल सरकारले छिट्टै निर्माण गरिने बताएपनि अहिले सम्म बजेटको कुनै टुङ्गो लागेको छैन् । हेलम्बु र मेलम्चीमा आएको बाढीले यो क्षेत्रमा चारवटा मोटरवेल पुल तथा आधा दर्जन झोलङ्गे पुल बगाएको थियो ।
असारमा आएको विनासकारी बाढीले स्थानीयको व्यक्तिगत सम्पति बाहेक सडक, पुल लगाएत भौतिक संरचना अनुमानित डेड अर्ब भन्दा माथि क्षति पुगेको बताईन्छ ।
यसैबीच चनौटेको रातो पुल बगाएको स्थानमा ’ह्युमपाइप पुल’ सञ्चालनमा आएको छ । रातोपुल बगाएपछि पहिलोपटक बुधबार बिहान सवारीसाधन सञ्चालनमा आएको स्थानीयले बताएका छन् ।