
बजारमा अखाद्य बस्तुको छ्यापछ्याप्ती, मानव स्वास्थ्यमै खेलबाड गर्छन् व्यापारी

असोज २०, चौतारा (सिन्धुपाल्चोक) । विशेष त चाड पर्व आउँदा बजार अनुगमन गर्ने एउटा प्रचलन जस्तै बनेको छ । जिल्ला प्रशासन, घरेलु, उद्योग वाणिज्य संघ र स्थानीय सरकार लगाएत सरोकारवाला निकायहरुले गर्ने अनुगमन परम्परा जस्तै बनेको छ । तर बजारमा भने व्यापारीहरुले मनलाग्दी गरेका छन् । एकातिर जथाभावी मूल्य वृद्वि त छँदैछ । त्यसमाथि व्यापारीहरुले अखाद्य बस्तु बिक्री वितरण गरेर मानव स्वास्थ्य जीवनमा खेलबाड गरेको भेटिएको छ ।
चाडपर्व आउनु दुई साता अघि बजार अनुगमनको क्रममा म्याद गुर्जेका खाद्यबस्तु भेटिएको हो । बजार अनुगमनको क्रममा फेला पारिएका अखाद्य बस्तु नमुनाको रुपमा मात्रै संकलन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले बताए । ‘हामीले यि म्याद गुज्रेका खाद्य सामाग्रीहरु नमुनाको रुपमा मात्र लिएका हौं’, प्रशासकीय अधिकृत लघुले भने ।
तर ठूलो मात्रमा जफत गर्न बाँकी रहेका अखाद्य बस्तु को–को व्यापारीसंग छ भनेर चाँही उनले खुलाउन चाहेनन् । उपभोक्ताले चासो दिएर उजुरी नदिएसम्म समस्या रहिरहने उनको ठम्याई छ ।
म्याद गुर्जेका खाद्य समाग्री हेर्दा उपभोक्ताले सजिलै खरिद गरेर उपभोग गरिरहेको पाईएको घरेलु विकास कार्यालयका प्रमुख राशरण गौतले बताए । उनका अनुसार मानव स्वास्थ्यका लागि निकै हानिकार मानिएको उक्त अखाद्य सामाग्री व्यापारीहरुले निर्वाद रुपमा विक्रीवितरण गरिरहेका छन् ।
जिल्लाका तीनवटै क्षेत्रमा अनुगमन गरिएको घरेलु कार्यालयका बरिष्ट अधिकृत गौतमले जानकारी दिए ।
जिल्ला घरेलु कार्यालयको प्राङगरमा सदरमुकाम चौतारा बजारबाट जफत भएका खाद्य सामाग्रीहरु विभिन्न सरोकार वालाहरु तथा जिल्लाका सञ्चारकर्मीहरु समेतको रोहबरमा मंगलबार नष्ट गरिएको हो ।
उक्त अभियानमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघु, घरेलु विकास कार्यालयका प्रमुख रामशरण गौतम, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोकका शम्भुप्रसाद पोखरेल, उद्योग वाणिज्य संघका प्रतिनिधि, सञ्चारकर्मी लगाएत सहभागी थिए ।
घरेलु विकास कार्यालयका प्रमुख गौतमका अनुसार झण्डै दुईदर्जन अखाद्य सामाग्रीका नमुना नष्ट गरिएको हो ।
सदरमुकाम चौताराबाट आलु चिप्स ९ पाकेट, डाईजेष्टिक बिस्कुट २, पोट्याटो चिप्स १, स्टिम चामल ६१ के.जी, जिरा मसिनो चामल १३ केजी, सरफ, सनफ्लावर तेल २ लिटर, सुजी १ पाकेट, मह २०० ग्राम, सिदार्थ चामल ३० केजी रहेको छ । त्यस्तै पापड ५० पाकेट, लुईटा १ बाक्सा, क्वाँटी २७ के.जी, केराउ १० के.जी, डमरु निमकिन १० पाकेट, पानीपुरी मसला १० पाकेट, मैदा ५० केजी, केक चकलेट, पाउँ, गुडबेक बिस्कुट र बदाम लगाएत ३० हजार माथिको सामाग्री नष्ट गरिएको घरेलु विकास कार्यालयका वरिष्ट अधिकृत गौतमले जानकारी दिए ।