सुनकोशी–३ आयोजनाको सार्वजनिक सुनुवाई, ४ हजार माथि घरधुरी प्रभावित हुने

दिनश दुलाल
असोज १३, चौतारा (सिन्धुपाल्चोक) । सुनकोशी–३ जलविद्युत आयोजना(६८३ मेगावाट) को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विद्युत विकास विभागको आयोजनामा सोमबार सुकुटेको एक होटलमा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सुनकोशी ३ आयोजनाको प्रस्तावक नेपाल सरकार, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगतको विद्युत विकास हो । उसले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई वातवरणीय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिवेदन सार्वजनिक गरेर प्रभावित समुदायलाई जानकारी गराएको हो ।
सार्वजनिक सुनाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै विद्युत विकास विभागका ईन्जिनिएर हरी खत्रीले प्रचलित नियम अनुसार नै आयोजनाको बारेमा बिस्तृत रुपमा प्रभावित समुदायलाई जानकारी गराईएको बताए ।

ईन्जिनिएर खत्रीले प्रस्तुत गरिएको प्रतिवेदनमा आयोजनाबाट पहिचान भएका प्रत्यक्ष घरधुरी ४ हजार ४ सय २३ र सर्वेक्षण गरिएका घरधुरी ३ हजार ३ सय १३ अर्थात ७४.९० प्रतिशत प्रभावित हुनेछन् ।

६ सय ८३ मेगावाट विद्युत उत्पादन हुने उक्त आयोजनाको कुल अनुमानित लागत एक खर्ब ५० अर्ब हुनेछ । औषत वार्षिक उर्जा २३५६.२७ गिगावटआवर विद्युत हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार ४५ किलोमिटर लम्बाई रहने जलशयको कुल क्षमता १७६.९ करोड घनमिटर रहनेछ ।
त्यस्तै सुरुङको लम्बाई ०.५३ किमी, बाँधको अधिकतम उचाई १८० मिटर र माथिल्लो सतहको लम्बाई ४ सय ८४ मिटर रहने छ । आयोजना निर्माण हुँदा सडक ३७.४ ( अरनिको र मध्य पहाडी लोकमार्ग) क्षति हुनेछ । त्यसैगरी
झोलङ्गे पुल १३ वटा र ठूला गाडीका पुलहरु चारवटा नोक्सान हुनेछन् ।

दुईवटा सुरुङ बन्ने उक्त आयोजनाबाट सिन्धुपाल्चोक जिल्लाको सुनकोशी, बलेफी, ईन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिका प्रभावित क्षेत्र पर्दछन् । जुन जलाशय क्षेत्र रहनेछ ।

त्यस्तै काभ्रेपलान्चोकको मन्डन देउपुर तथा पाँचखाल नगरपालिका, भुम्लु, चौंरी देउराली र तेमाल गाउँपालिका रहने छ । जाहाँ जलाशय, वाँध विद्युतगृह तथा फोहोर थुपार्ने ठाउ रहने जनाईएको छ । त्यसैगरी रामेछाप जिल्लाको खाँडादेवी र सुनपाती गाउँपालिका रहनेछन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रभावितहरुले विद्युत विकास विभागको काम, कर्तव्य र अधिकार क्षेत्रको बारेमा जिज्ञासा राखेका थिए ।

ईन्जिनिएर खत्रीले विद्युत विकासले आयोजना तर्जुमा गर्ने, डिजाईन गर्ने, सम्भाव्यता अध्यायन र वातवणीय प्रभाव मूल्याङकन गर्ने जिम्मेवारी पाएको बताए । उनका अनुसार विभागले मन्त्रालयले निर्माण गरेका उर्जा र विद्युतसंग सम्बन्धित नीति नियमहरुको कार्यान्वयन गर्ने गर्दछ । त्यस्तै विभागले नियमक ढाँचाको पारदर्शिता सुनिश्चित गर्नु, समायोजन गर्नु, उर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक निजी लगानी कर्ताहरुको सहभागितालाई एकद्वार प्रणालीको सेवा प्रदान गरेर प्रोत्साहन र सहजिकरण गर्नु तथा उर्जासंग सम्बन्धित आयोजकहरुको अनुमति प्रदान गर्नु रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रभावित क्षेत्र अन्र्तवगत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले आफ्नो पालिका भित्र यति ठूलो आयोजना बन्नु गौरबको विषय भएको बताए । आयोजना प्रभावितमैत्री हुनपर्ने मेयर तामाङले जोड दिए । कार्यक्रममा प्रभावित वडाका वडाअध्यक्षहरु, प्रभावित स्थानीय, आयोजक तथा प्रभावित स्थानीयहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस आगमी एक दशकमा सम्पन्न भईसक्ने उक्त आयोजना निर्माण हुँदा देशकै सबैभन्दा ठूलो गौरबको आयोजना हुनेछ ।