बागमति प्रदेश स्काउट तदर्थ समिति गठन, मुख्यमन्त्रीद्वारा सपथ खुवाईयो
असोज ११, हेटौंडा । बागमती प्रदेशमा प्रदेश स्तरीय तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गरेकी हुन् ।
सपथग्रहण कार्यक्रम पछि मुख्यमन्त्री शाक्यले स्काउट राजनीतिभन्दा माथि उठ्नपर्ने तर्क गरेकी छन् । वागमती प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अष्टलक्ष्मी शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा काम गर्नुपर्ने बताएकी हुन् ।
‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, समारोहमा शाक्यले भनिन्, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’
स्काउटले समाजमा भएका हिंसा तथा असमानता कम गर्न भूमिका निर्बाह गर्नुपर्ने उनको भनाइ थियो ।
समारोहमा वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पनि स्काउटको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगमा काम गर्नुपर्ने बताए ।
समारोहमा स्काउटको प्रदेश संरक्षक, स्थानीय संरक्षकलगायत दीक्षित भएको मुख्यमन्त्री शाक्यकी स्वकीय सचिव सीता थापाले जानकारी दिइन् ।