
भू–सेवा अब स्थानीय तहमै, देशकै पहिलो सुरुवात पाँचपोखरी थाङपाल गाउँपालिकाबाट

असोज ८, थाङपालधाप (सिन्धुपाल्चोक) । जग्गा अंशबण्डा तथा राजीनामा लगाएत भू–सेवा अब स्थानीय तहमै हुने भएको छ । यसको पहिलो सुरुवात पाँचपेखरी थाङपाल गाउँपालिकाले सुरुवात गरेको छ ।
जग्गा सम्बन्धी भू–सेवा लिन सदरमुकाममा रहेको मालपोत कार्यालयबाट मात्रै लिन सकिने प्रावधानलाई उछिनेर उक्त गाउँपालिकाले थालनी गरेको हो । स्थानीय तहले दिने यो सेवा देशकै पहिलो सुरुवात भएको उसको ठहर छ ।

गाउँपालिकाले जनताको सेवा झन् सहज र सुलभ गराउने उदेश्यका साथ मालपोत कार्यालय मार्फत पाउने आधारभूत सेवाहरु अब गाउँपालिकामै उपलब्ध गरिने गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले सिन्धुज्वालालाई जानकारी दिए ।
बिहिबार एक अनौपचारीक कार्यक्रमकाबीच मालपोत कार्यलयका प्रमुख चण्डीराज कोईरालाले गाउँपालिकाका अध्यक्ष ह्याल्मोलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उनका अनुसार अब भु–सेवा मार्फत स्थानीय तहले जनतालाई लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्बिन्ध कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापना गर्न लागिएकोे हो ।
कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम अब स्थानीयतहबाटै हुने तथा केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्र सहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने गाउँपालिकाको ठहर छ ।
प्राविधिक सामाग्री सहित जनशक्तीको ब्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदाय स्तरमा समेत प्रचारप्रसार गरिने योजना गाउँपालिकाको छ । गाउँपालिकाबाट भू–सेवा केन्द्र स्थापना भएसंगै स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाका सल्लाकार विजय पौडेललेको ठहर छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले भू–सेवाको प्रयोगलाई देशकै स्थानीय तह मध्येको पहिलो सुरुवाता आफ्नो पालिकाबाट भएको दावी गरेपनि जिल्लाकै पहिलो सुरुवात भएको जानकारहरु बताउँछन् ।
कार्यक्रममा गाउँपालिका माहासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेल लगाएत सहभागी थिए ।