‘राजनीति’ पेशा की जनसेवा ?
भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए – ‘हामीहरु राजनीति गर्छौ।’
हो चि मिन्हले यो उत्तर बुझ्न सकेनन् ।
उनले फेरि सोधे – ‘मेरो मतलब तपाईहरुको पेशा के हो ?’
भारतीय मन्त्रीहरुले जवाफ दिए– ‘राजनीति नै हाम्रो पेशा हो।’
हो चि मिन्ह ले अलिक चिडिदै भने– ‘सायद तपाईहरुले मेरो भनाइको मतलब बुझ्न सक्नु भएन। राजनीति त म पनि गर्छु तर पेशाले म किसान हु, म खेति गर्छु। खेतिबाटै मेरो आजीविका चल्छ। बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु, दिउसो राष्ट्रपतिको रुपमा आफ्नो दायित्व र कर्तब्य निर्बाह गर्छु ।’
यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो । उनीहरुसंग यो कुराको कुनै जवाफ नै थिएन ।
अनि फेरि हो चि मिन्हले त्यही कुरा सोधे पछि एक जना भारतीय मन्त्रीले लज्जित हुदै भने– ’राजनीति गर्नु नै हामी सबैको पेशा हो ।’
नेपालको अवस्था पनि भारत जस्तै छ, फरक छैन । यहाँ पनि राजनीतिलाई आफ्नो मूल पेशा बनाउने व्यक्तिहरुकै हालीमुहाली छ । यहाँका राजनैतिक नेता तथा कार्यकर्ताहरु पनि केही गर्दैनन् परजीवी जस्ता देखिएका छन् । तर पेशावीदहरू तथा व्यवसायमा दख्खल भएकाहरुलाईनै तिनले उपदेश दिन्छन् र आफै जान्ने पल्टन्छन् । मानी लिऔं जन्मजातनै तिनीहरु सबै विषयमा पोक्त भएका छन् । राजनैति दलमा लागेका प्राय कार्यकर्ताहरु संग न शिक्षा छ, न तालिम छ, न ईलम छ, न कुनै पेशा छ, न कुनै सीप छ, न कुनै जीवनमा ठोस काम गरेको प्रोफाईल छ । उनीहरुसंग न व्यवहारिक ज्ञान छ र न ढंग छ । काँही नबिकेपछि राजनैतिक दलमा घुसेका छन् कयौं कार्यकर्ताहरु । जो केही जान्दैनन् तिनै महाजान्ने पल्टन्छन् । बिना ईलम वा ब्यावसाय अर्बपति, करोडपति छ, विलासी जीवन तिनकै छ ।
कसरी थुप्रियो त्यति विध्न सम्पति ? काहाँ छ आएस्रोत ? यि सबै प्रश्नहरुको उत्तर गुमनाम छन् । पुँजीवादी पार्टीहरुमा यि यस्ता क्रियाकलाप र संकेत हुन स्वभाविक हो । तर आफुलाई सर्वहारावादी, श्रमजीवी तथा गरीब विपन्न वर्गको अविभावक ठान्ने कम्युनिष्ट पार्टीमै यो खालको प्रवृति देखिनु विडम्बना छ । अझ १० वर्षे जनयुद्वमा सर्वहारा वर्गको लागि लडेको पार्टी माओवादीमा यस खालको प्रवृति र संस्कार देखिनु झनै दुखःदायी छ ।
सर्वहारा पार्टीका नेताकार्यकर्ताहरुले कहिल्यै आधुनिक प्रविधिको विकास अनुसार बदलिन हुँदैन, राम्रो लाउन, राम्रो खान तथा विलासी साधनको उपयोग गर्न हुँदैन भन्ने कुरा आडम्बर छ । यद्यपि जनतामा सुख शान्ती र एउटा स्तर वृद्वि नभएसम्म उनीहरु भन्दा आकाश जमिनको फरक पर्ने अवस्था देखिनु भनेको अत्यान्त लज्जासपद कुरा हो । त्यसमाथि अस्वभाविक र अवैधानिक रुपमा आर्जन गरेका व्यक्तिगत सम्पति देखिनु त्यो खालको तडकभडक देखिनु आपत्तीजनक नै छ । कसरी ति सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीहरुमा यि कुरा स्वभाविक रुपमा पचिरहेका छन् ? विडम्बना छ । यहि संस्कारले हामीले भनेको समाजवादी व्यवस्था कसरी सम्भव छ ?
जिल्लाकै कुरा गर्दा अलि कहलिएका नेताहरुको प्रोफाईल हेर्ने हो भने सुरुका चरणमा उनीहरुले पार्टीको लागि दिलोज्यान दिएका छन् । कयौं चुनौति र जोखिम मोलेर आन्दोलनको लागि योगदान गरेका छन् । आन्दोलन, पार्टीको लागि उनीहरुको लागि संधै योगदान भईरहन पर्छ तर के उनीहरुले गरेको योगदानको प्रतिफल बैंकमा राखेको पैसाको व्याज जस्तो हो ? जहाँ एकपटक राखेसी वर्षौं वर्ष सम्म व्याज खान पाईयोस । के नेताहकरुले कुनै श्रम गर्न पर्दैन ? राजनीति गरेको आडमा श्रमिकहरुको श्रमशोषण गरेर बसी बसी खान मिल्छ ?
आजसम्म जिल्लाका प्राय कम्युनिष्ट नेताहरुको आम्दानीको आयस्रोत केही देखिदैन न श्रम नै गरेका भेटिन्छन् । शहरमा मंहगा मंहगा अर्पामेन्ट, बंगला अनी मंहगा गाडी कसरी जोडिए ? दैनिक ईन्धन लगाएत हुने खर्च कसरी जुट्छ ? यो आम सर्वसाधारण, पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुले सजिलै थाहा पाउन पर्दैन ? यो अत्यान्त गम्भिर विषय हो ।
साँच्चै पार्टी बन्ने भनेको नेताहरु राजनीति पेशेवर होईन व्यवसायिक र श्रमजिवी हुन जरुरी छ । नेता तथा कार्यकर्ताहरुले मेरो पेशा ‘राजनीति’ भन्नै पाईदैन । राजनीति त जनसेवा हो । पेशा भनेको कुनै व्यवसाय होकी, उद्योग कलकारखाना हो त्यो स्पष्ट खुल्न प¥यो । जसले मेरो पेशा पूर्णकालिन राजनीति हो भनेर भन्छ । त्याहाँ केही न केही गडबढ छ भनेर बुझ्न सकिन्छ । राजनीति त पूर्ण रुपमा जनसेवा हो । राजनीतिमा स्वंयमसेवक बन्न पनि पाईन्छ । तर पेशेवर बन्न मिल्दैन । कतै न कतै श्रममा तथा व्यवसयामा जोडिएको हुनपर्छ । राजनीति गर्ने अनी ठेकेदारसंग विकास निर्माण लगाएत योजनाहरुको कमिशन खाएर पार्टी चलाउने, दुईनम्बरी धन्दा गर्ने लगाएतका प्रवृतिहरु अन्त्य नभएसम्म न पार्टीका नेता कार्यकर्ता सुध्रन्छन् न मुलुकनै सप्रन्छ । यो नै अहिलेको ज्वलन्त समस्या हो ।
यदि कोही पार्टीका पार्टीका नेता तथा कार्यकर्ताले आफुलाई श्रमजिवी तथा सर्वहारा वर्गको नेता वा पार्टीका कार्यकर्ता सम्झन्छ भने अब कुनै न कुनै श्रममा जोडिन जरुरी छ ।
एउटा कुरा हामीमा बुझाईमा के गलत छ भने ‘फलानो ठेकेदारलाई पार्टीको जिम्मा दिईयो, व्यापारीलाई पार्टीको नेता बनाईयो ।’ यो अत्यान्त गलत कुरा हो । यदि एउटा निर्माण व्यवसायीले नियमपूर्वक र ईमान्दारीपूर्वक ठेक्का तथा व्यवसाय गरेको छ र आफु पनि प्रत्यक्ष श्रममा जोडिएको छ भने पार्टीका सदस्य बन्न किन नहुने ? तर व्यवसाय र ठेक्काको नाममा आफु सिन्को नभाँच्ने पेटी ठेकेदार उत्पादन गरेर बिना श्रम श्रमजीवी मजदुरहरु मारा त्यस्ता ठेकेदार तथा व्यवसायी छन् भने त्यस्तालाई पार्टीभित्र कुनै प्रवेश नै दिनुहुन्न ।
कमसेकम जिल्ला वा केन्द्रमा जुनसुकै तहका नेताहरुको एउटा न एउटा व्यवसाय गरेको होस । चाहे त्यो व्यापार होस या कृषि कर्ममा उनीहरुको लगानी र श्रम हुन जरुरी छ । अनि मात्रै साँच्चैको नेता हुन सम्भव छ । चाहे भने पार्टीले माथि उल्लेखित गलत प्रवृतिहरुलाई परास्त गर्न सक्छन् । साँच्चै एउटा नेता वा कार्यकर्ता राजनीतिमा जनसेवा र पेशामा श्रमसहितको व्यवसायिककरण भएको यो पुस्ताले देख्न पाउला की नपाउला ? गम्भिर विषय र प्रतिक्षाको घडी बनेको छ ।