प्रभावकारी भन्दै जनतासंग मेयर कार्यक्रम, जनताका समस्यासंग साँक्षातकार गर्दै मेयर तामाङ

दिनेश दुलाल
भदौ १४, ईर्खु (सिन्धुपाल्चोक) । चौतारा सााँगाचोकगढी नगरपालिकाले सुरुवात गरेको जनतासंग मेयर कार्यक्रमले अझै निरन्तरता पाएको छ ।
नगरभित्र भएका विकास निर्माण तथा जनताका गर्नुपर्ने आधारभूत आवश्यकता पुरा गर्न स्थानीयको राय संकलन गर्ने उद्देश्यले थालिएको जनतासंग मेयर कार्यक्रम निकै प्रभावकारी देखिएको नगरपालिकाको ठम्याई छ ।
१४ वटा वडाका प्रत्येक बस्तीहरुमा थालिएको जनतासंग मेयर कार्यक्रमले जनताका समस्याहरुलाई बुझ्न र बजेट निर्माण गर्न निकै सहज भएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए ।

आफु नगरपालिकाको कार्यकक्षमा भन्दा जनताको सुखदुखमै रमाउने गरेको मेयर तामाङको भनाई छ । ‘टोल टोलमा पुगेर जनतासंग साँक्षात्कार गर्दा जनताका वास्तविक समस्या थाहा पाईने रहेछ’, मेयर तामाङले भने ।
नगरपालिकाले जनतासंग मेयर कार्यक्रमलाई नीतिगत रुपमै राखेर विगत बर्षदेखि सुरुवात गरेको थियो । १४ वटै वडामा थालिएको उक्त कार्यक्रम आज ८ नम्बर वडा ईर्खुका स्थानीय संग गरिएको हो ।

बिहान ८ बजे ईर्खुको चौकीडाँडामा निर्माण गर्ने भनिएको छ्याेर्तेन निर्माण स्थलमा त्याहाँका स्थानीय जम्मा भएर जनता र मेयर तामाङबीच साँक्षातकार भएको थियो । स्थानीयले मेयर तामाङसंग खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगार लगाएत आधारभूत जनताका आधारभूत समस्या समाधान गर्न माग गरेका थिए । चौकी डाँडामा निर्माण गर्न लागेको छ्याेर्तेन निर्माणकाे लागि लाग्ने करिब ८ लाख सहयोग गर्न मेयर तामाङलाई आग्रह गरेका थिए ।

स्थानीयलाई सम्वोधन गर्दै मेयर तामाङले ईर्खुमा आफ्नो पार्टीले हारेपनि त्यहाँको खानेपानी, सडक, सामुदाियक भवन लगाएत विकासको लागि सहयोग पु¥याएको स्मरण गराए । ‘भोट हाल्ने भन्दा भोट नहाल्नेको बढी माया लाग्ने रहेछ’, मेयर तमाङले ठट्यौली पारले भने । जो सुकै जनता विकास माग्न नगरपालिका आँउदा रित्तो हात नफर्काएको ठोकुवा गर्दै मेयर तामाङले अन्य जातीको तुलनामा तामाङ समुदाय विकास माग्न निकै कम रहेको उल्लेख गरे ।
सोही कार्यक्रममा मेयर तामाङले तामाङ समुदायको कुल मन्दिर मानिने छ्याेर्तेन निर्माणका लागि तत्काल नगरपालिकाले ६ लाख रुपैया दिने घोषण गरे । त्यस्तै स्तानीयको माग अनुसार तामाङ समुदायको बाेम्पाे (झाँक्री) प्रतिमा, बाँजबिसौनामा प्रतिक्षालय र पहिरो रोकथामको लागि तत्काल ६० थान जाली लगाएतका काम पुरा गरिदिने बचन दिए ।
त्यस्तै नगरपालिकाकै महत्वपूर्ण योजनाको रुपमा पर्यटकीय स्थल रानीपोखरी निर्माणको लागि नगरपालिकाबाट ५० लाख छुट्याईएको समेत उनले सुनाए । कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रका चौतारा साँगाचोकगढी नगरकमिटि अध्यक्ष श्यामकृष्ण श्रेष्ठले विकास निर्माण देखि जनताका आधारभूत समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र भएकाले जनतासंगै हातेमालो गरेर अगाडि बढ्ने बचन दिए ।
त्यस्तै कार्यक्रमा वडा नम्बर ८ का वडाअध्यक्ष तिर्थबहादुर श्रेष्ठले बत्ती, पानी लगाएत जनताका आधारभूत कुरा नभए आफुले तत्काल पुरा गरिदिने बचन दिए । जनताको आर्थिक उपार्जनको बाटो जनतालाई आय आर्जनसंग जोड्न कृषिलाई व्यवसायीकरण र आधनिकरण गरिने उनले बताए ।
यसैबीच नगरपालिकाको आयोजनामा शनिबार साँगाचोकको मानडाँडामा जनतासंग मेयर कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा मेयर तामाङले जनताको माग र आवश्यकता हेरी नगरले विकास निर्माण र आयआर्जन लगाएतका व्यवसायको लागि बजेट उपलब्ध गराउने उदघोष गरे ।
स्थानीय जनताले मानेडाँडामा गुम्बा निर्माणको लागि नगरपालिकासंग आग्रह गरे अनुसार नगरपालिकाले आवश्यक रकम समेत सहयोग गरिने बचन दिए । नगरपालिकालाई चौतारा र साँगाचोक गरी दुई केन्द्र मानेको बताउँदै मेयर तामाङले पूर्वाधार निर्माण लगाएत हरेक सुविधामा दुई केन्द्रलाई बराबरी गरेको बताए । आफुले जनतालाई झुट्टो आश्वासन कहिल्यै नगरिने बताए । जे सकिन्छ जनतालाई त्यति मात्र भन्न पर्छ मेयर तामाङले भने । आफुले जुनसुकै राजनैतिक पार्टीका कार्यकर्ता विकास निर्माण माग्न आए नगरपालिकाको क्षमता अनुसार रित्तो हात नफर्काएको दावी गरे । वडमा आएको प्रत्येक योजनाहरुमा अनियमिता भएको भन्ने स्थानीयको आलोचनालाई स्पष्टीकरण दिंदै ११ नम्बर वडाका वडाअध्यक्ष शुशिलबहादुर माझीले जुनसुकै योजनामा कुनै अनियमिता नभएको दावी गरे । सो सम्बन्धी वडा कार्यालयमा जनताको कुनै उजुरी नआएको उनले स्पष्ट पारे ।
हरेक विकास निर्माण जनताको लागि भएकोले जनता स्वयम अग्रसर हुनपर्ने उनले तर्क पेश गरे । जनतासंगको मेयर कार्यक्रममा पुगेका १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले जनता र जनप्रतिनिधि बीचको अन्यौलतालाई चिर्न छलफल, बहस तथा अन्र्तक्रिया कार्यक्रम सार्थक भएको तर्क पेश गरे ।
कार्यक्रममा सहभागी स्थानीय श्याम पाख्रिनले भने जनतासंग मेयर कार्यक्रममा सबै सरोकार जनतालाई जानकारी नगराएको भन्दै गुनासो पोखे । नगरप्रमुखसंग वडाका जनताले सबै किसिमका आफ्ना गुनासा र समस्या राख्न पाउन पर्ने उनले माग गरे । साँगाचोक मानेडाँडाका युवाहरुले विकास निर्माणको साथसाथै युवारोजगारकोको समेत सबाल उठाएका थिए ।
त्यस्तै सो भेगमा पानीको समस्या रहेकोले आकाशे पानी संकलन गरेर तरकारी व्यवसाय गर्न नगरपालिकालाई युवाहरुले माग गरे । नगर तथा वडाले किसानलाई पशुपालन तथा व्यवसायी खेती गर्न प्रोत्साहित गर्नुपर्ने उनीहरुको माग थियो ।