जनतासंग दुखः साट्दै मेयर तामाङ, किरिया खर्च ५ हजार लिएर प्रत्येक मृतक परिवारमा पुग्छन्
दिनेश दुलाल
भाद्र १४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगर पालिकाका मेयर अमानसिं तामाङ दैनिकी नगरपालिका कार्यालय पुग्छन तर लामो समय आफ्नो कार्यकक्षमा बस्दैनन् । कारण उनी प्राय जसो जनताका बीचमा पुगेका हुन्छन् । न त उनी जनतालाई कुनै आश्वासन दिन गएका हुन् न त संगठन निर्माण गर्न नै । बरु उनी आफ्ना नगरभित्र मृत्युको कारणले पिडामा परेका मृतकका परिवारलाई भेट्न त्याहाँ पुग्ने गरेका छन् । किरियाखर्च वापत पाँचहजार लिएर मृतकका परिवारमा पुगेका मेयर तामाङ आर्थिक सहयोग मात्र होईन दुखः पनि साट्छन् । आर्थिक हैसियतमा ठूला हुन या साना सबैलाई समान भावले भावुक हुँदै समवेदना प्रकट गर्छन् । साउन यता मेयर तामाङको दिनचर्य नै किरियापुत्री भेट्ने कामा बित्ने गरेको छ । मेयरसंगै कहिलेकाँही उपमेयर जानुका पराजुली लगाएत पालिकाका अन्य सदस्यहरु समेत पुग्छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको लोकप्रिय कार्यक्रमको रुपमा रहेको मृतकका परिवारलाई आर्थिक सहायता कार्यक्रम नयाँ आर्थिक वर्ष साउन देखि सुरुवात गरेको हो ।
नगरपालिकाको विभिन्न कारणले निधन भएका नगर भित्रका आफ्ना नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरको कार्यक्रम अनुसार प्रति मृतक परिवार ५ हजार प्रदान गरिएको मेयर तामाङले सिन्धुज्वालालाई जानकारी दिए । ‘हामीले यो आर्थिक वर्षदेखि विभिन्न कारणले मृत्यु भएका नागरिकका परिवारलाई आर्थिक सहायता सुरुवात गरेका छौं’, मेयर तामाङले भने । नगरभित्रका नागरिकको मृत्यु हुँदा नगरपालिकालाई पनि शोक परेकाले नगरले समवेदना प्रकट गर्न तथा किरिया खर्च बापत आर्थिक सहायता प्रदान गर्न मृत्यु भएका प्रत्येक घरघरमा पुग्ने गरेको मेयर तामाङले सुनाए ।
नगरको नीतिगत कार्यक्रम अनुसार छुट्याईएको आर्थिक सहायता प्रत्येक मृतकका परिवारका घरमा पुगेर प्रदान गरिएको मेयरका स्वकीय सचिव रोहित शर्माले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ सुरुवात भएसंगै नगरभित्रका चौतारा, पिपलडाँडा, ईर्खु र कुविण्डे, ठूलोसिरुवारी गरी २० मृतक परिवारलाई नगरले आर्थिक सहायता प्रदान गरिसकेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद पौडेलका अनुसार नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि किरिया खर्च बापत आर्थिक सहायता गर्न २५ लाख रकम बिनियाजन गरेको छ । नगरको यो कार्यक्रमले सर्वसाधारण जनता निकै उत्साहित देखिएका छन् । यो कार्यक्रम खासगरी विपन्न नागरिकहरुको लागि निकै उपयोगी देखिएको नगरपालिकाका सामाजिक विकास संयोजक तथा १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमको कथन छ । आफुले १३ नम्बर वडामा प्रत्येक मृतकका परिवारलाई सुरु देखिनै भेट्न जाँदा समवेदना पत्र सहित भेटघाट गर्न पुग्ने गरेको वडाअध्यक्ष गौतमले सुनाए ।
सानो रकम भएपनि जनताको भावनासंग समेटिएको लोकप्रिय उक्त कार्यक्रमलाई नगरपालिकामा आउने अबका जनप्रतिनिधिहरुले हटाउन नसक्ने ईर्खुका युवा रामकृष्ण दंगालको दावी छ ।
स्मरण रहोस प्रत्येक सर्वसाधारणको विभिन्न कारण मृत्यु हुँदा तिनका परिवारलाई आर्थिक सहायता गर्ने कार्यक्रम १२ स्थानीय तह मध्ये चौतारा साँगाचोकगढी नगरपालिकाको पहिलो कार्यक्रम हो ।