अन्ततः नगरपालिकाको प्रयासमा पुरानै धारमा फर्काईयो मेलम्ची खोला


भदौ २, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाको आफ्नै प्रयासमा मेलम्ची खोलालाई पुरानै धारमा फर्काईएको छ ।
झण्डै दुई साता अघि मेलम्ची नगरपालिकाको पुरानै अवस्थामा खोला फर्काउनका निम्ति ५ वटा मेसिन प्रयोगमा ल्याएको थियो ।
असार १ गते र साउन १६ गते आएको बाढीले मेलम्ची बजारको तल्लो भाग पुरै लेदोले पुरिएको थियो । मेलम्ची बजारमा ठूलो धनजनको क्षति भएसंगै मेलम्ची नगरपालिकाले बस्ती तथा संरचना जोगाउन अभियानमा लागिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले बताए ।
‘खोलालाइ पुरानै धारमा फर्काउन सकेमा सम्भावित क्षति केही हदसम्म कम गर्न र बस्ती जोगाउन सकिन्छ भनेर लागेका हौ’, मेयर अर्यालले भने । खोलालाइ पुरानै धारबाट बगाउनका लागि दैनिक ५ वटा स्काइभेक्टर प्रयोग गरेर नदि नियन्त्रणको काम भइरहेको प्रमुख अर्यालले जानकारी दिए । यस अभियानमा स्थानीय व्यवसायी जनकलाल श्रेष्ठ लगाएत युवाहरुले समेत साथ दिएका छन् । नदि नियन्त्रणको लागि जेसिबी तथा स्काभेटर मेशिन लगाएत सामाग्रीको लागि समाजसेवी समेत रहेका व्यवसायी जनकलाल श्रेष्ठले समन्वय गरेका थिए ।
मेलम्ची नगरपालिकाको प्रयासमा मेलम्ची दोभान देखी झोलुङ्गे पुल सम्म नदि पुरानै धारमा फर्काईएको छ ।

मेलम्ची खोलामा आएको बाढीले खेतीयोग्य जमिन र बस्तीबाटै खोला बग्न थालेपछि मेलम्चीबासी निकै चिन्तित थिए । करोडौं लगानी गरेर बनाएका घर तथा संरचना र हजारौ रोपनी खेतीयोग्य जमिनमा बाढीले क्षति पुर्याएपछि बस्ती र खेतीयोग्य जमिन जोगाउन नगरापालिकासंग स्थानीयले माग गरेका थिए । केहीले नगरपालिकाको विरोध समेत गरेका थिए । पछिल्लोपटक भने नगरपालिकाको कार्यप्रति सन्तोषजनक रहेको स्थानीयले बताएका छन् । स्थानीयको मर्म अनुसार नगरपालिकाको योजना बनाएको नगर प्रमुख अर्यालले बताए । ‘हामी मेलम्ची बजार र यहाँको खेतीयोग्य जमिन कसरी जोगाउन पर्छ भन्ने योजनामै थियौं’, मेयर अर्यालले भने । मेलम्ची नगरपालिकाले स्थानीयको जनधनको रक्षाको लागि कुनै कसर बाँकी नराखिने उनले ठोकुवा गरे । उनका अनुसार नदि तटीय भागमा रहेका घर तथा बस्तिहरु अझै जोखिममा रहेकाले नगरले त्यहाँ नबस्न तथा तत्काल सरसफाइ नगर्न समेत आग्रह गरेको छ ।

अवरुद्ध मेलम्ची हेलम्बु सडक खोल्नका लागि काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार मेलम्ची हेलम्बु सिमाक्षेत्र तालामाराङ सम्म बाटो निर्माणको लागि काम भइरहेको छ । सडक छिट्टै संचालनमा आउने गरी काम भईरहेको नगरपालिकाकाकी उपमयेर भगवती नेपालले जानकारी दिईन । उनका अनुसार नगरपालिकाले बाढीले अवरुद्ध सो क्षेत्रको सडक खुलाउन, बिजुलीबत्ती, खानेपानी जस्ता निर्माणको काम थालेको छ ।
सम्रण रहोस असार १ र साउन १६ मा आएको बाढीले मेलम्ची हेलम्बु, मेलम्ची पाचपोखरी, मेलम्ची इन्द्रावती जाने सडक संजाल नहुँदा स्थानीयले निकै सास्ती झेलिरहेका छन् । त्याहाँ खाद्यन्न, औषधी उपचार लगाएत अत्यवश्यक बस्तुहरुको आयत गर्न कठिनायी भएको स्थानीयको भनाई छ ।