
माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने प्रचण्डको उदघोष, पार्टीलाई सुदृढ गर्ने प्रस्ताव

साउन ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष प्रचण्डले आफ्नो पार्टी आगमी निर्वाचनमा पहिलो बन्ने उदघोष गरेका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको राजनैतिक अवस्था माओवादी केन्द्रकै वरीपरी केन्द्रित रहेकोले पहिलो पार्टी बन्न कसैले नरोक्ने ठोकुवा गरे । प्रतिगमनकारीको चंगुलमा पुगेको मुलुकलाई माओवादीकै कारण ठूलो दुर्घटनाबाट जोगाएको तथ्य प्रस्तुत गर्दै प्रचण्डले पार्टीको ८ औं माहाधिवेशन पुष ११, १२ र १३ गते गर्ने गरी पार्टीलाई तलैसम्म सुदृढ गर्ने प्रस्ताव अघि सारेका छन् ।
हिजो र आज दुई दिन चलेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक काठमाडौंमा आज सम्पन्न भएको हो ।
उक्त बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रस्ताव, पार्टीको अन्तरिम विधान–२०७८ को संसोधन र चार बुंदे समसामयीक विषयमा प्रस्ताव पास गरेको सो पार्टीले जनाएको छ ।
“नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं“ भन्ने नारा सहित पार्टी सदस्यता नविकरण गर्दै सेल देखी प्रदेश सम्मेलन गर्दै आगामी पौष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले बताए ।
नयाँ विचार संश्लेषण र क्रान्तिकारी पार्टी निर्माणको संकल्पलाई सबैले आत्मसाथ गर्दै दृढतापूर्वक कार्यान्वयनमा जुटे आगमी निर्वाचनमा माओवादी केन्द्र अब्बल पार्टी बन्न सक्ने उनले दावी गरे ।
पार्टीको दुईदिन सम्म चलेको बैठकमा केन्द्रीय सदस्य लगाएत सहभागीलाई ८ वटा समुहमा विभाजन गरेर धारणा प्रस्तुत गर्न लगाईएको थियो । माओवादीका ८ टोलीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा पेश गरेका थिए । त्यस्तै बैठकमा बहुचर्चित एमसीसीको बारेमा जनताले बुझ्ने गरी विरोध गर्नुपर्ने सुझाव आएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । त्यस्तै बैठकमा सुझाव पेस गर्ने क्रममा नेताहरूले सरकार सन्चालन गर्न संयन्त्र बनाउन र जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदका रूपमा निर्णय गरी राजपत्रमा प्रकाशित गर्न पार्टीले पहल लिनुपर्ने बताएका थिए ।
यस्तो छ माओवादी केन्द्रको आगमी कार्यतालिका
– २०७८ भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
–असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
–असोज २० गते वडा सम्मेलन ।
–असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
–कात्तिक ३० गते जिल्ला सम्मेलन ।
–मङ्सिर १५ गते प्रदेश सम्मेलन ।
–पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।