जिल्लाकै ठूलो च्याउ व्यवसाय त्रिपुरासुन्दरीमा, राउतले यसरी सुरुवात गरे (हेर्नुहोस भिडियो सहित )

दिनेश दुलाल
साउन २६, चोकटी (सिन्धुपाल्चोक) । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ चोकटीका बलराम राउतको दिनचर्य आजभोली च्याउ रेखदेखमा बित्ने गरेको छ । बाँकी समय उनी भेडा चरनमा र खाना पकाउन खर्चिन्छन् । उमेरले उनी ५० वर्ष कटिसके तर उनको जोश जाँगर युवा तन्नेरीको जतिकै फुर्तिलो छ । हँसिलो अनुहार अनी ठट्यौली पारामा गफ्फिने बलरामको स्वभाव च्याउ फाममा आउने ग्राहको लागि सबभन्दा आकर्षक बनेको छ । फाममा आउने पाहुना तथा ग्राहकलाई बलराम गफैले मख्ख पारिदिन्छन् । गफ जतिकै बलरामको व्यवहार पनि सरल र स्वभाविक छ ।

सुरुमा काठमाडौंकोमा च्याउ व्यवसाय सुरु गरेका बलरामले पछिल्लो पटक भने आफ्नै पालिकामा सुरुवता गरेका छन् । त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ चोकटी लागर्चेमा सुरा कृषि प्रा.ली नाममा सुरु गरेको व्यवसाय भने आफ्ना छोरा सुभाषको नाममा सञ्चालन गरेका छन् । सुभाषले व्यवसायको सम्पूर्ण जिम्मेवारी समाले संगै बलरामलाई निकै हलुको भएको छ । उनी अहिले फमको रेखदेख, कामदारलाई खान पकाउन तथा भेडा चराउनमा दिनचर्य बितेको छ ।

आफुले थालेको व्यवसाय जेठो छोरा सुभाषलाई सुम्पिएकोमा बलराम निकै खुशी छन् । उनले पहिला काठमाडौंमा यो व्यवसाय गरेका थिए । पछिल्लो पटक आफ्नो जिल्लामै २०७५ साल फागुन २१ दर्ता गरी व्यवसाय थालेका हुन । आफ्नो गाउँमै च्याउ व्यवसाय गरेर गाउँको र जिल्लाको इज्जत राख्न काठमाडौं छाडेको बलारामले सुनाए ।
चोकटीको लाँगर्चेमा स्थानीयको १३ रोपनीमा १० वर्षको लागी लिजमा लिएर वार्षिक एकलाख भाडा तिर्ने गरेको सुरा कृषि प्रा.लीका सञ्चालक सुभाषले बताए ।
उनका अनुसार उक्त च्याउ फाममा कामदार ५ देखी ७ जना क्रियासिल छन् । च्याउ उत्पादन भएपछि बजार व्यवस्थापन देखि सम्पूर्ण कामको रेखदेख सुभाषले नै भ्याउँछन् । उनलाई अर्का सहसञ्चालक सविन राउतले उत्तिकै सघाउँछन्
उत्पादनका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो च्याउ व्यवसाय रहेको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको सुरा कृषि फामले व्यक्तिगत फाईदा मात्र गरेको छैन । स्थानीयलाई रोजगार दिएको छ भने जिल्लाबासीले आफ्नै गाउँमा उत्पादन भएको ताजा च्याउ चाख्न पाएका छन् ।
झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटारएर खुद नाफा वार्षिक ७ लाख हुने गरेको सुभाषले बताए । उक्त व्यवसायले दुईवटा परिवारलाई राम्रो संग धानेको उनको तर्क छ । च्याउ उत्पादनको ४० प्रतिशत स्थानीयमा खपत र ६० प्रतिशत काठमाडौंमा लैजाने गरेको सुभाषको भनाई छ ।
एउटा टनेलमा वर्षमा चार लड सम्म उत्पादन दिने र बर्षमा ९ देखि १२ सिजन हुने सुभाषको बताए । ‘स्थानीय खपद हुने माग डेडसय देखि २ सय किलो सम्म छ तर आवश्यकता जति उत्पादन गर्न सकिएको छैन्’, सुभाषले भने । अबको दिनमा व्यवसायिक लक्ष्य अनुसार वार्षिक कम्तिमा ६० हजार उत्पादन गर्ने सुभाषको योजना छ । तर च्याउमा प्रयोग गर्ने पराल भने स्थानीय प्रयोग नगरिएको सुभाष बताउँछन् । जसको लागि पराल तराईबाट र बाँस ईलामबाट ल्याउने गरेका छन् । च्याउको लागि पराल मात्रै महिनाको २ देखि ३ गाडी खपत हुने उनले सुनाए ।
उनका अनुसार दैनिक उत्पादान सालाखाला १०० किलो र वार्षिक ३० हजार किलो उत्पादन दिने गर्दछ । सुभाषका अनुसार साला खाला स्थानीय मूल्य १५० देखी २०० सम्म पर्न आउँछ । बाह्रबिसे, खाडीचौर लगाएत स्थानीय बजारबाट च्याउ फाममै च्याउ लिन आउने गरेका छन् । व्यवसाय हेर्न आउने पाहुनालाई बलरामले फाममै च्याउको रोष्ट बनाएर चखाउने गरेको बताउँछन् । जिल्लाको यति ठूलो च्याउ व्यवसायलाई भने सरकारका तीनै तहबाट भने त्यति प्राथमिकता दिएको देखिदैन । प्रदेश सरकारबाट त्यस क्षेत्रका सांसदहरुले कतिपय सामान्य व्यवसायलाई अनुदान उपलब्ध गराउने गरिएको भएपनि सुरा कुषि प्रा.लीलाई भने अहिले सम्म कुनै अनुदान प्राप्त नभएको बलरामले दुःखेसोे पोखे । उक्त फामलाई त्रिपुरासुन्दरी गाउँपालिकाबाट अहिलेसम्म एकलाख ५० हजार मात्र अनुदान प्राप्त भएको उनले सुनाए ।
प्रदेश तथा स्थानीय सरकारले व्यवसाय हेरेर उपयुक्त अनुदान दिए जिल्लाकै आकर्षक व्यवसाय सञ्चालन गर्ने उनीहरुको योजना छ ।
हेर्नुहोस भिडियो