बाह्रबिसे घटनाको सम्बन्धमा ५ सदस्यीय छानविन समिति बन्यो, छिट्टै निकास पाउने मेयर शेर्पाको भनाई
साउन २५, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे घटनाको सम्बन्धमा ५ सदस्यीय छानविन समिति बन्ने भएको छ । चोरी आरोपमा प्रहरी हिरासतमा रहेका घुम्थाङका ३२ वर्षीय खडगबहादुर तामाङको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएपछि सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खानालको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति बन्ने भएको हो । हिजो नगरपालिकाको आयोजनामा बाह्रबिसेमा पीडित सहित मानव अधिकार आयोग सञ्चारकर्मी लगाएतको सर्वपक्षीय छलफलको दवावले छानविन समिति बनाउने सहमति भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । ‘हिजो बसेको सर्वपक्षीय छलफलको दवावले छानविन बनाउने सहमति भएको छ, अब छिट्टै निकास पाउँछ,’ मेयर शेर्पाले भने । उनका अनुसार उक्त छानविन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष कुमार बस्नेत, राष्ट्रिय अनुसन्धानको डिएसपी सरोज निरौला, बारको प्रतिनिधि भेषराम ढकाल र ७ नम्बर वडाको अडा अध्यक्ष मिन बहादुर श्रेष्ठ गरी पाँचजनाको छानविन समिति बनेको हो । बाह्रबिसे नगरपालिका, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार आयोग बीचको छलफलले उक्त समिति गठन गर्ने सहमति भएको बाह्रबिसे नगरपालिकाका मेयर निफुन्जो शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए ।
यसैबीच धुलिखेल अस्पतालमा मृत्यु भएका तामाङको टिचिङ अस्पतालमा ष्र्टमार्टम गर्न पीडित सहित उपमेयर सुशिला पाख्रिन त्यसतर्फ लागिसकेको मेयर शेर्पाले जानकारी दिए । छानविन समिति बनेसंगै चाँडो भन्दा चाँडो परिणाम आउने मेयर शेर्पाले ठोकुवा गरे । ‘अब पीडितले न्याए पाउँछन्, सत्यतथ्य बाहिर आउँछ’, मेयर शेर्पाले भने ।
उक्त छानविन समिति बनाउन हिजो नगरपालिकाको कार्यालयमा मानवअधिकार आयोग, पीडित पक्ष तथा सञ्चारकर्मी सहित बसेको सर्वपक्षीय छलफल भएको थियो । ईलाका प्रहरी कार्यालय बाह्रबिसेको प्रहरी हिरासतमा राखिएका तामाङको उपचारको क्रममा साउन २२ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको प्रहरीको चर्को यातानाका कारण ज्यान गएको पीडित पक्षको आरोप छ ।
उक्त घटनाको छानविन गर्न भन्दै आईतबार मेयर शेर्पाले प्रेस वक्तव्य नै जारी गरेका थिए ।