बाह्रबिसे घटनाको सन्दर्भमा निश्पक्ष छानविन गर्न नगरप्रमुख शेर्पाले गरे माग

२२ साउन, बाह्रबिसे (सिन्धुपाल्चोक) । प्रहरी हिरासतमा लिएका एक युवकको रहस्यमय मृत्यु भएको भन्दै सोको छानविन गर्न बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाको सन्दर्भमा लेख्दै मेयर शेर्पाले इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासत भित्र रहेका नगरपालिका–७ घुम्थाङका एक युवाको मृत्यु भएकोप्रति नगरपालिकाको गम्भीर ध्यानर्कषण भएको उल्लेख गरेका छन् ।
चोरी आरोपमा प्रहरी हिरासतमा रहेका घुम्थाङका ३२ वर्षीय खडगबहादुर तामाङको उपचारको क्रममा साउन २२ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

‘प्रहरीको कडा सुरक्षा घेरा भित्र हिरासत कक्षमा रहेका युवाको मृत्यु हुनु दुःखद हो’, मेयर शेर्पाले भने, ‘बाह्रविसे नगरपालिका यस घटनाप्रति दुःख व्यक्त गर्दछ । घटनाको निष्पक्ष छानबिनका लागि हामी अनुरोध गर्दछौ ।’
स्थानीय सरकारलाई समेत जानकारी नगराई घटनालाई ढाकछोप गर्न खोज्नु ईलाका प्रहरी कार्यालय बाह्रबिसेको गम्भिर त्रुटी भएको मेयर शेर्पाको ठहर छ । हामी स्थानीय सरकारलाई कमसेकम जानकारी गराउन पर्दथ्यो, त्यति पनि नगर्नु केही न केही रहस्य छ’, शेर्पाले भने ।
बाह्रविसे नगरपालिकाको न्यायिक समितिले पनि घटनाको बारेमा अध्ययन गर्ने उनले जानकारी दिए । उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा तामाङको मृत्यु भएपश्चात अस्पतालले पोष्टमार्टम रिपोर्ट दिएपछि त्यही रिपोर्टको आधारमा सत्यतथ्य बाहिर आउने उनले ठोकुवा गरे । पोष्मार्टमाको रिपोर्टबाट सबै कुरा थाहा हुने भएकाले त्यो रिपोर्ट नआउदासम्म कोही पनि उत्तेजित नहुनका लागि सबैमा अनुरोध समेत गरे ।
घटनाको सन्दर्भमा प्रहरी प्रशासन, मानवअधिकारवादी, संघसंस्था नागरिक समाज, सञ्चारकर्मी लगायतका निकायहरुलाई घटनाको वास्तविकता बाहिर ल्याउनका लागि स्वतन्त्र छानविन समिति गठन गर्न समेत माग गरेका छन् । पीडितलाई न्याय दिलाउनका लागि बाह्रविसे नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
उक्त घटनाई मृतकका आफन्तले समेत प्रहरीको यातनाका कारण भएको आरोप लगाएका छन् । तर प्रहरीले भने चोरीको अभियोगमा पक्राउ परेका तामाङले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण आफैंलाई शारिरिक रुपमा चोटपटक लगाएपछि उपचारका क्रममा मृत्यु भएको बताएको छ ।