
बाढीप्रभावितलाई दशैं सम्ममा नयाँ घरमा सार्न हेलम्बु गाउँपालिकाले थाल्यो तयारी

साउन ७, किउल (सिन्धुपाल्चोक) । असार १ गते आएको भिषण बाढीका कारण सर्वाधिक क्षति पुगेको हेलम्बु गाउँपालिकाले प्रभावितलाई दशैं सम्ममा नयाँ घरमा सार्नेगरी तयारी थालेको छ । हेलम्बु गाउँपालिकाले उक्त क्षेत्रका बाढी प्रभावित हरुलाई अस्थायी आवास निर्माणकार्य शुरु गरेको हो । बाढी पीडितहरुलाई छिट्टै नयाँ घरमा बसाउने तयारी थालिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सिन्धुज्वालालाई बताए । ‘हामी पीडितहरुलाई दशैं सम्ममा नयाँ घरमा बसाल्ने योजनामा छौं’, गाउँपालिका अध्यक्ष शेर्पाले भने । पीडितहरुलाई सुरक्षित ठाउँमा जग्गा प्राप्ति, नापी नक्सा र घरको डिजाईन लगाएतको काम सुरुवात गरिसकिएको शेर्पाले बताए । उनका अनुसार हेलम्बु गाउँपालिकाको पहलमा निर्माण थालिएपनि पीडितहरुलाई अस्थाई बसोबास भने टेलिभिजन कार्यक्रम इन्द्रेणीले निर्माण गर्ने भएको छ । विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको हो ।
हेलम्बु गाउँपालिकाको हल्दे, ओडारे, तिम्बु लगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा आफ्नो इन्द्रेणी टिमले लिएको हो । ईन्द्रेणीका अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेलले मङ्गलबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई ६२ लाख हस्तान्तण गरेका थिए ।
सो क्रममा शेर्पाले पीडितलाई दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई सारेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष शेर्पाले हेल्भेटास नेपालबाट ४२ र स्टार्ट फण्डको सहयोगमा केएर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा घरको निमार्णकार्य शुरु भइसकेको जानकारी दिए ।
कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्ने समेत जानकारी दिए ।
उनका अनुसार हेलम्बु गाउँपालिकाको प्रविधिक स्टमेट अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।
उक्त बाढिका कारण क्षति भएको बिद्युत लाईन सुचारु भैसकैको र टेलिफोन लाइन पनी सुचारु गरिसकिएको अध्यक्ष शेर्पाले बताए । हेलम्बुमा मानव बस्तिका साथै क्षति भएका ट्राउट फर्म, झोलुङ्गे पुल, मोटरेवल पुल लगायत खेतियोग्य जमिनको समेत तथ्याङ्क संकलनगरी नेपाल सरकार समक्ष उचित राहत तथा क्षतिपुर्तिको लागी आफु लागिरहेको उनले बताए ।
यसैबीच गाउँपालिकाले वेपत्ता तथा मृतकका परिवारको लागी तत्कालिन राहत स्वरुप प्रति परिवार १ लाखका दरले उपलब्ध गराई सकिएको उनले जानकारी दिए ।