देउवा क्याबिनेटको निर्णय ः सिन्धुपाल्चोक र मनाङ विपद्ग्रस्त जिल्ला घोषणा

साउन ५, काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको दोस्रो क्याबिनेटले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सोमवार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ,’ मन्त्री कार्कीले भने ।

बाढि पहिरोबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोक र बाग्लुङलाई यस अघि ओली सरकारले घोषणा गरे पनि कार्यान्वयन हुन सकेको थिएन । देउवा सरकारले भने विपद्ग्रस्त ति क्षेत्रहरुमा तत्काल कार्यान्वयन समेत गरिने बताएको छ ।
त्यसैगरी सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिदैँ अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरिएको पनि प्रवक्ता कार्कीले बताए।
मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अबसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।