खोर्सानीबारी खेलकुद कभर्डहल व्यवस्थापन समितिमा नयाँ नेतृत्व

साउन १, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकामा रहेको खोर्सानीबारी खेलकुद कभर्डहल व्यवस्थापन समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार भएको साधारणसभाले व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरेको छ । व्यवस्थापन समितिको अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठ चयन भएका छन् । सात सदस्यीय निर्माण गरिएको खेलकुद कभर्डहल व्यवस्थापन समितिमा उपाध्यक्षमा खेलबहादुर श्रेष्ठ, सचिव दिपा बस्नेत, कोषाध्यक्ष राहुल श्रेष्ठ, सदस्य दिनेश कुमार श्रेष्ठ, पशुपति श्रेष्ठ र सदस्य दिलिप श्रेष्ठ चयन भएका छन् ।

२०७६ भदौमा कभर्डहल निर्माण गरेर पहिलो साधारणसभा गरेको व्यवस्थापन समितिको शुक्रबार दोस्रो साधारणसभा गरेको हो ।
साधारणसभाको उद्घाटन बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले गरेका थिए । उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले कभर्डहल नगरपालिकाको लगानी र समित्व रहेपनि खोर्सानीबारी समुदायको सम्पति भएको बताए । खेलकुद विकासलाई प्राथमिकता दिएर निर्माण गरिएको खेलकुद कभर्डहललाई खोर्सानीबारीका स्थानीयले संरक्षण गर्नुपर्ने उनले धारणा राखे ।

खोर्सानीबारीका जनताले आफूलाई स्थानीय चुनावमा निर्वाचित हुन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मेयर शेर्पाले यहाँको सम्पूर्ण विकासमा नगरले विशेष चासो दिएको बताए । नगरले आफ्नो छुट्टै प्रशासनिक भवन बनाउन लागेको जानकारी दिंदै नगरप्रमुख शेर्पाले खोर्सानीबारीमा रहेको भवनमा नगर भित्रका वृद्ववृद्वा र अशायहरुलाई संरक्षण गर्ने योजना रहेको बताए । विरोधीहरुले बदनामित बनाउन खोजेपनि नगरको सम्पूर्ण योजनाहरु सफलताका साथ पुरा गरिएको दावी गरे ।
कार्यक्रममा उपप्रमुख शुशिला पाख्रिनले खेलकुद क्षेत्र नगरको गहना भएकोले नगरले यो क्षेत्रलाई प्राथमिकता दिएको बताईन ।
जनप्रतिनिधि लगाएत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व रामबहादुर श्रेष्ठले गरेका थिए ।
जिल्ला समन्वय समिति तथा नगरपालिकाको एक करोड ५ लाख लगानीमा दुई वर्ष अघि स्थापना भएको कभर्डहल १२ स्थानीय तहमध्यैको पहिलो र उत्कृष्ट मानिन्छ ।