सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण

३१ जेठ । सिन्धुपाल्चोक
सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
सापकोटाले बाह्रबिसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गर्नु भएको हो । जलविरेलाई हस्तान्तरण गरिएका सामग्रीमा डिजिटल एक्सरे (यु एस जी र ई सि जी) मेसिनलगायत महत्वपूर्ण स्वास्थ्य सामग्री छन् । यस्तै बाह्रबिसेलाई एन ९५ र सर्जिकल मास्क, गाउन, ग्लोब्स, फेससिल्ड, स्यानिटाइजरलयायत रहेका छन् ।
सभामुख सापकोटाले बाह्रबिसे स्वास्थ्य केन्द्रको अवलोक गरि नगरप्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रीन र केन्द्रका निमित्त प्रमुख डा.अनिल कुमार राउतसँग केन्द्रमार्फत दिइएको स्वास्थ्य सेवा र अभावका बारेमा जानकारी लिनु भएको थियो । उहाँले स्वास्थ्य केन्द्रमा अभाव रहेको जनशक्ति परिपूर्ति एवं स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यस्तै जलविरेमा सामग्री हस्तान्तरणपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले देशले कोभिड–१९ र राजनीतिक संकट संगसंगै बेहोरिरहेको बताउँदै सतर्क रहन आग्रह गर्नु भयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दा क्षति कम गर्न सकिने भन्दै उहाँले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभयो । सो अवसरमा सभामुख सापकोटाले स्वास्थ्य सामाग्री उपलब्ध गराउने रोटरी क्लबप्रति आभार व्यक्त गर्नु भयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले जलविरे स्वास्थ्य केन्द्रले प्राप्त गरेको सामाग्रीले ब्रम्हायणी करिडोरका बासिन्दाई उचपारमा सहज हुने विश्वास व्यक्त गर्नु भयो । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले आवश्यक भएर पनि गाउँपालिकाले गर्न नसकेको कामको पहल र उपलब्धताका लागि सभामुख सापकोटा, रोटरी र टिकाराम पराजुलीलगायत संलग्न सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । अध्यक्ष क्षेत्रीले केन्द्रलाई प्राप्त डिजिटल एक्सरे (यु एस जी र ई सि जी) सञ्चालनका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।
रोटरी क्लबका डा.सुवास प्याकुरेल र बालिका गुरागाइले आवश्यकताका आधारमा स्वास्थ केन्द्रलाई थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रशान्त ज्ञवाली र बलेफी गाउँपालिका वडा न. १ का अध्यक्ष मधु कुमार थापाले सभामुखलगायत सबै सहयोगीप्रति आभार व्यक्त गर्नु भयो ।

स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि १५ लाख रकमान्तर
सभामुख सापकोटाको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको रकमबाट जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि १५ लाख रकमान्तर गरिएको छ । यसअघि पनि चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाकालगायतका पूर्वाधार विकासका लागि १५ लाख रकमान्तर गरिएको थियो ।

विपद् पूर्व तयारीमा जुट्न आग्रह
सभामुख सापकोटाले स्थानिय तहका जनप्रतिनिधिहरुलाई बर्षातका कारण हुनसक्ने सम्भावित जोखिम र कोभिड–१९ को सम्भावित तेस्रो लहरका लागि पूर्व तयारीमा रहन आग्रह गर्नु भएको छ । बाह्रबिसे नगरपालिका प्रमुख र उपप्रमु र प्रमुख प्रसासकीय अधिकृतसँगको छलफलका क्रममा उहाँले नगरपाकिलाले गरिरहेको पूर्व तयारीका सम्बन्धमा जानकारी लिनु भएको हो । यस्तै सभामुख सापकोटाले बलेफी गाउँपालिकका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बद्ध अधिकारीहरुलाई सम्भावित विपत्तिबारे सतर्क रहन र पूर्व तयारीमा जुट्न आग्रह गर्नु भयो ।

सडक अनुगमन गरि गुणस्तरीय काम गर्न निर्देशन
सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकको बलेफी–तेम्बाथान सडक खण्ड अन्तरगत निर्माणाधिन सडकको अवलोकन गर्नु भएको छ । सो अवसरमा उहाँले तोकिएको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्न निर्माणमा संलग्न अधिकारीहरुलाई निर्देशन दिनु भयो । गुणस्तरमा कुनै सम्झौता नगर्न भन्दै सापकोटाले बर्षातको समयमा समेत सहज रुपमा सवारी सञ्चालनका लागि काम गर्नु पर्नेमा जोड दिनु भयो ।