
जनहितद्वारा १४ वडालाई स्वास्थ्य सामाग्री प्रदान

जेठ २३, चौतारा (सिन्धुपाल्चोक) । नेपाल हिल्फे बाइलिङ्ग्रीसको सहयोगमा जनहित ग्रामिण सेवा समितिले चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा १४ वटै वडामा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ । नगरका सबै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा वडाहरुलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
कोरोना नियन्त्रण र रोकथामका लागि संस्थाले शनिबार र आइतबार दुइ दिन प्रत्येक वडामा पुगेर स्वास्थ्य सामग्री वितरण गरिएको जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए । उनका अनुसार उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, जनहितका अध्यक्ष भरत सापकोटा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य उजारसिं तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्य सागर परियार स्थानिय अगुवाहरु लगाएतको उपस्थिती रहेको थियो ।
बितरण गरिएको सामग्रीहरुमा १ लाख प्रति माक्स, २५ सय वटा स्यानिटाइजर, प्रत्येक स्वास्थ्य संस्थाको लागि बाफ दिने नेबुलाईजर मेशीन सेट, डिसइन्फेक्टेन्ट, अक्सिमिटर, थर्मोमिटर लगायतको सामाग्रीहरु रहेको छ ।
नेपाल हिल्फे बाइलिङ्ग्रीसका नेपाल प्रतिनिधि श्याम पण्डितका अनुसार उक्त संस्थाले नगरपालिकामा स्वास्थ्य, शिक्षा लगाएत विभिन्न क्षेत्रमा काम गरिरहेको छ । हालको विषम परिस्थितिमा पनि नगरपालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिनिधि पण्डितले प्रतिक्रिया दिए । कोभिड रहुन्जेल अझै सहयोग गरिरहने उनले प्रतिवद्वता जनाए ।
नगरपालिकाको विभिन्न विकास बजेट नै कटौती गरेर स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपरिरहेको अवस्थामा यसरी गैरसरकारी संस्थाहरुले स्वास्थ्यको क्षेत्रमा सहयोग गरेकोमा नगर प्रमुख अमानसिङ तामाङले धन्यवाद दिए ।
“कोरोना बाट बचौँ र बचाऔँ“