हेलम्बुका अध्यक्ष शेर्पा भन्छन्–‘कि खोप लगाउ, कि अनुमति देउ’
दिनेश दुलाल
जेठ १४, किउल (सिन्धुपाल्चोक) । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरस स्थानीय स्तरसम्म फैलनु केन्द्रीय सरकारको लापरबाहीका कारण भएको स्थानीय सरकारका जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।
सर्वसाधारण जनताको निम्ति समयमै खोपको प्रवन्ध नगर्नु सरकार गैरजिम्मेवार भएको उनीहरुको ठहर छ । ‘कित सरकारले लगाईदिन प¥यो, कि स्थानीय सरकारलाई अनुमति दिन प¥यो’, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सिन्धुज्वालासंग भने, ‘आफु पनि नगर्ने स्थानीय सरकारलाई पनि अनुमति नदिने यो सरकारको कमजोरी हो ।’
सरकारले खोप लगाउन अनुमति दिए पालिकाकै खर्चले ३० हजार खोप खरिद गरेर नागरिकलाई लगाईदिने अध्यक्ष निमाले ठोकुवा गरे ।
स्थानीय सरकारको पहिलो काम जनता बचाउने भएकोले आफुहरुले केन्द्रीय सरकारलाई पत्रनै लेखेर खोपको लागि आग्रह गरिएको अध्यक्ष निमाले बताए । पालिकामा कोप लगाउन बाँकी १५ हजार बाँकी रहेकोले पालिकालाई डबल डोज गरेर ३० खोप आवश्यक रहेको उनले बताए । उनका अनुसार हेलम्बु गाउँपालिकामा २० हजार जनसंख्या रहेका छन् ।
हेलम्बु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निराजन मैनालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ भ्याक्सिन खरिद गर्न पत्र लेखर अनुमतिनै मागेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मैनालीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–‘विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको कारण यस गाउँपालिकामा पनि संक्रमित हुने संख्या दिनानुदिन बढिरहेको छ । उक्त कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको उपयुक्त विकल्प भ्याक्सिन नै भएको सन्दर्भमा यस गाउँपालिकालाई जनसंख्याको आधारमा त्याहाँबाट तेस्रो र चौथो चरणको लागि जम्मा तीसहजार डोज कोभिड भ्याक्सिन उपलब्ध गरादिन हुन अनुरोध छ ।’ पत्रमा भनिएको छ–‘यदि त्यो सम्भव नभएमा नेपालको संविधानको धारा र मर्म अनुसार हेलम्बु गाउँपालिकाले आफ्नै खर्चबाट मापदण्ड अनुसारको कोभिड भ्याक्सिन खरिद गर्नको लागि तहाँबाट आवश्यक अनुमति प्रदान गरिदिनु हुन अनुरोध छ ।’
यस्तो छ पत्र