उद्योग वाणिज्य संघको उत्कृष्ट कार्य, १२ स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

जेठ १३, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण अभियान थालेको छ ।
सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्य बुधबार मात्रै ७ स्थानीय तह र बाह्रबिसे प्राथमिक स्वास्थय केन्द्रलाई संघले स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बाँकी पाँचवटा स्थानीय तहमा भने आज वितरण गरिने सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) ले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार संघले बुधबार भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफि गाउँपालिका, सुनकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका र जुगल गाउँपालिकामा आवश्य स्वास्थ्य सामग्री वितरण गरेको हो ।
जस अनुसार ती स्थानीय तहलाई सर्जिकल माक्स ३० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स ५ सय ६५ थान, स्यानिटाइजर १ सय ७० लिटर, स्यानिटाइजर १ सय ९२ थान, थर्मोमिटर गन १६, अक्सिमिटर १६, पीपीइ ४० थान र ग्लोब्स १ कार्टुन वितरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
त्यस्तै बुधबार नै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई ५० कार्टुन पानी, सिन्धु सदावहारलाई ५० कार्टुन पानी पनि संघले वितरण गरिएको हो ।

संघले वितरण गर्न वाँकी रहेका ५ स्थानीय तहमा आज बिहिबार स्वास्थ्य सामग्री वितरण गर्ने बस्नेतले जानकारी दिए । उनका अनुसार वाँकी रहेका चौतारा साँगाचोकगढी नगरपालिका, ईन्द्रावती, मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पुगेर आजै सोही अनुसारको स्वास्थ्य सामग्री वितरण गरिने छ । साथै जिल्लाका अस्पताल चौतारा र मेलम्ची स्वास्थ्य प्राथमिक केन्द्रलाई समेत स्वास्थ्य सामाग्री वितरण गरिने बस्नेतले जानकारी दिए ।
स्वास्थ्य सामग्री वितरणमा संघका अध्यक्ष बस्नेत, निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ र हिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष वच्चु पौडेल लगाएत सहभागी थिए ।
स्मरण रहोस संघले जिल्लामा हालसम्म ६१ वटा अक्सिजन सिलिण्डर भरेर स्वास्थ्य संस्थामा दिसकेको छ । उक्त अभियानलाई निरन्तरता दिईने सिन्धुपाल्चोक उद्योगवाणिज्य संघले जनाएको छ ।