सिल्कद्धारा साढे तीन लाख थान मास्क र अक्सिजन सहयोग
जेठ ९, चौतारा (सिन्धुपाल्चोक) । नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले तीनलाख थान मास्क र अक्सिजन सहयोग गरेको छ । सिल्कले सिन्धुपाल्चोकवासीका लागि पहिलो पटक यति ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान मास्क, अक्सिजनसहित स्वास्थ्य सामग्री सहयो गरिएको सिल्कका अध्यक्ष रमेश शेर्पाले सिन्धुज्वालालाई बताए । ‘कोरोना माहामारीको भयावह भएको अवस्थामा आफ्नै जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’ शेर्पाले भने ।
उनका अनुसार सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन ३० थान प्रदान गरको हो । शनिबार सिल्कका अध्यक्ष शेर्पाले पूर्व मन्त्रीद्धय मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्रीद्धयले सिल्कबाट प्राप्त स्वास्थ्य सामग्री जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुझाएको हो ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले यो सामग्रीले धेरै सहयोग पुग्ने बताए । सामग्री बुझ्दै समितिका सल्ल्हाकार एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सिल्कबाट प्राप्त भएको सामग्रीले सिन्धुवासीलाई राहत पुग्ने बताए । ‘स्वास्थ्य सामग्रीको अभाव हुने संकेत भइरहेको बेला संक्रमण भएमा आफैलाई प्रयोग गगर्न पनि नपाउने चिन्ता हटेको छ’, उनले भने ।
स्मरण रहोस सिल्कले बिबिहार मात्रै एकसय थान सिलिन्डर मोहन बस्नेत मार्फत हस्तान्तरण गरेका थिए ।