सभामुखको विशेष पहलमा चौतारामा अक्सिजन प्लान्ट स्थपना हुने
जेठ ९, चौतारा (सिन्धुपाल्चोक) । सभामुख अस्निप्रसाद सापकोटाको पहलमा जिल्ला सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट स्थपना हुने भएको छ ।
कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि एवं नागरिकको जीवन थप जोखिममा पर्न नदिन सभामुख सापकोटाको विशेष पहलमा हुन लागेको हो ।
कोभिड–१९ को दोस्रो लहरका कारण उपचार गराउनु पर्ने संक्रमितहरुको संख्या बढेको र जिल्लामा अक्सिजनको अभाव भएपछि चौतारा अस्पतालको मागपत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्रक्रिया अघि बढिसकेको छ । केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरुप पाउने उनले बताए ।
अक्सिजन प्लान्ट स्थापना गर्न सभामुखद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको योजनामा संशोधन गरी १५ लाख छुट्याईएको उनले बताए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय र सो कार्यालयमार्पmत अन्य स्वास्थ्य संस्थामा लैजाने गरी तत्काल १०० थान भरिएको अक्सिजन सिलिण्डर, २० थान अक्सिजन कन्सन्टेटर र दुई हजार थान एन्टिजेन किट पठाउने व्यबस्था भएको छ ।
स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री शनिबार स्वकीय सचिव गोविन्द पाठकले जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका सामग्रीहरुमा २१ लिटरको एक थान अक्सिजन कन्सन्टेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क एक हजार थान, पिपिई सेट ३० थान, स्यानिटाइजर लगायत रहेका छन् ।
जिल्लाबाट संकलित ५३ थान अक्सिजन सिलिण्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको न्यौपानेले जानकारी दिए । प्रेस विज्ञ न्यौपानेका अनुसार सभामुखले कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध समेत गराएका थिए ।
सभामुख सापकोटा भने संसद पुनः विघटन पछिको विशेष अवस्थाका कारण शनिबार सदरमुकाम चौतारा आउन नसकेको सभामुख सचिवालयले जनाएको छ ।