सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको रचनात्मक कार्य, वेटिङ सेन्टरमा पानी र स्वास्थ्य सामग्री उपलब्ध

जेठ ५, चौतारा (सिन्धुपाल्चोक) । उद्योगी, व्यापारी तथा व्यवसायीहरुको साझा संस्था सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ सामाजिक कार्यमा समेत अग्रसर देखिएको छ ।
जिल्लामा जुरे पहिरो देखि भूकम्प लगाएत महाविपत्तीको बेलमा समेत मानवीय सहयोगमा तल्लिन सिन्धुपाल्चोक उद्योगवाणिज्य संघले कोभिड–१९ को माहामारीमा समेत रचनात्मक कार्यहरु थालेको हो ।
पछिल्लो समय संघले काभ्रे र सिन्धुपाल्चोकको सीमा क्षेत्र बन्देउमा रहेको वेटिङ सेन्टरमा पानी र स्वास्थ्य सामग्री वितरण गरेको छ । अन्य जिल्लाबाट सिन्धुपाल्चोक भित्रिने सर्वसाधारण र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री र पानी वितरण गरिएको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार मंगलबार सिन्धुपाल्चोक उद्योगाणिज्यको अगुवाईमा पानीसहित मास्क सेनिटाईजरलगायत सामग्री सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको हो । हस्तारणमा संघका अध्यक्ष बस्नेत तथा निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले सो सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष बस्नेतका अनुसार वेटिङ सेन्टरमा हाललाई एक सय तीन बाक्सा पानी र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । बन्देउमा जाँचका क्रममा अन्य जिल्लाबाट सिन्धुपाल्चोक भित्रिदै गरेका सर्वसाधारण वेटिङ सेन्टरमा रहँदा पानी र स्वास्थ्य सामग्री प्रयोग गर्नका लागि सो सामग्री हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका यस्ता सामग्री मेलम्ची प्रवेश गर्ने वेटिङ सेन्टरमासमेत वितरण गरिनेछ । कोरोनाको दोस्रो लहरले संक्रमित बढेसँगै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले अक्सिजनको समेत व्यवस्था गर्ने संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले जानकारी दिए । ‘स्थानीय तह तथा अस्पतालमा हामीले अक्सिजन दिने योजना बनाएका छौं’, बस्नेतले भने । सिलिन्डर संकलन गर्ने काम भईरहेकोले केही दिनमै हस्तान्तरण गरिने उनले बताए ।
यसैबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य वाणिज्य संघले कोभिड–१९ को माहामारीको मौका छोपेर खाद्यन्न लगाएत दैनिक उपभोग्य सामाग्रीहरुमा जथाभावी भाउ नबढाउन आफ्ना व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले विज्ञप्ति नै जारी गरेर खाद्य लगाएत दैनिक उपभोग्यमा सहज गरिन दिन समेत आग्रह गरेको हो ।
यसैबीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले पत्रकार माहासंघ जिल्ला शाखाले स्थापना गरेको पत्रकार राहत कोषमा आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री समेत सहयोग गरेको छ । जसमा अध्यक्ष बस्नेतले ३० हजार नगद तथा २५ थान सेनीटाईजर र एकसय थान माक्स प्रदान गरेका छन् । त्यस्तै निवर्तमान अध्यक्षहरु कमल कुमार श्रेष्ठले १५ हजार ५सय तथा बेदबहादुर श्रेष्ठले १७ हजार महासंघको खातामा जम्मा गरिएको पत्रकार महासंघ जिल्ला शाखाले जानकारी दिएको छ ।