अक्सिजनको जोहो गर्दै बाह्रबिसे नगरपालिका, भोली सम्ममा ८० थान सिलिन्डर पु¥याईने
दिनेश दुलाल
जेठ २, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका यतिबेला अक्सिजनको जोहो गर्न जुटेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा उच्चदरमा फैलिरहेको र कयौं मानिसहरू अक्सिजनको अभावका कारण ज्यान गुमाईरहेको अवस्थामा बाह्रबिसे नगरपालिकाले भने उक्त अभाव हुन नदिन ग्याँस सहितको सिलिन्डर जम्मा पारिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए । विपद्को घडीमा विभन्न अस्पताल, स्वास्थ्य संस्थाहरूमा चरम अक्सिजनको आवश्यक रहेको अवस्थालाई मध्यनजर गरि कोरोना रोकथाम तथा नियन्त्रण गर्न उक्त अभियान थालिएको नगरप्रमुख शेर्पाले बताए । नगरपालिकाका अनुसार नगर प्रमुख शेर्पाको पहलमा तथा बागमती प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री सरेश नेपालको समन्वयमा आजै २४ थान ग्याँस सहितको सिलिन्डर उपलब्ध गराईएको हो । बाह्रबिसे नगरपालिकाबाट संचालित आईसोलेसन सेन्टरमा तत्कालका लागि अत्यावश्यक अक्सिजन ग्यास सहितको २४ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको शेर्पाले बताए । उनका अनुसार बाह्रबिसे नगरपालिकाले तयार पारेको आईसोलेसन सेन्टरमा ३५ सेट अक्सिजन ग्याँस सिलिन्डर तयारी अवस्थामा रहेको छ । त्यस्तै आज नै ४२ थान अक्सिजन सिलिण्डर भर्न पठाएको र भोलीसम्म लगभग ८० थान अक्सिजन सिलिन्डरको व्यवस्था हुने नगरपालिकाको योजना छ । केही दिन भित्र नगरपालिकाले ५ थान अक्सिजन कन्सर्नट्रेटरको व्यवस्थापन गर्ने नगर प्रमुख शेर्पाले जानकारी दिए । यसैगरी बाह्रबिसे नगरपालिकाको विभिन्न वडाका स्वास्थ्य संस्थाहरू लगायत सामुदायिक भवनहरूमा अक्सिजन सहितको आईसोलेसन वार्डको व्यवस्थापन हुने समेत उनले जानकारी दिए । बाह्रबिसे नगर भित्रको आपद विपद्को थप व्यवस्थापन गर्न नगरकार्यपालिकाले ठोस निर्णय गर्ने समेत उनले जानकारी दिए ।
स्मरण रहोस केही दिन अघि मात्र बाह्रबिसे नगरपालिकाले २५ वेड क्षमताको आईसोलेसन वार्ड निर्माण गरेको थियो ।