अँ साँच्ची भुँईमान्छेलाई कोरोना लाग्छ की लाग्दैन होला ?
एकाबिहानै सडक छेउको पिल्लरको टेको लगाएर बसीरहेका थिए अर्जुन दाइ । साथमा उनीसंग पुराना केही थान पत्रिका च्यापेका थिए । कालो मैलो खरानी कलरको सर्ट÷पाईन्ट, उनको टोपी, औंला निस्केको जुत्ता र खरानी कलरकै थोत्रो च्यातिएको कोट लगाए थिए उनले । पछाडी एउटा रित्तो झोला बोकेका अर्जुन दाईलाई लामो यात्राको थकान पछि आरम गरेर बसेको भान हुँन्थ्यो । बङगरा समेत देखिनेगरी फिस्स हाँसको जस्तो मुख उघारेका अर्जुन दाई गम्भिर मोडमा थिए । मानीलिउँ जीवनका हरेक मोडमा थालिएका अनेकौं प्रयासहरुबाट उनी हार खाएका छन् । त्यहि अन्तिम हारले उनलाई जीवनमा एक्लो बनाएको छ । उनी एक्लै बिरोक्तीएर हिँडेका छन् । न उनलाई आफ्नै ज्यानको महत्व छ न सन्तान प्रतिको मायाँ । छ त उनीलाई साथदिने एकथान थोत्रा पत्रिका र एउटा खकाने झोला । ईन्द्रावती गाउँपालिकाको कुन्चोक बुढीचौर घर बताउने अर्जुन दाई सदरमुकाम चौतारामा टहलिएको धेरै वर्ष भईसक्यो । जाँहा पुगेपनि उनी एकसातामै चौतारा नै आईपुग्छन् ।
यतिबेला देशैभरी कोरोना माहामारीको व्याप्त छ । सिन्धुपाल्चोक पनि ज्यादै जोखिममा छ । कोरोना महामारीको यो अवस्थामा नगरपालिकाका कोरोना संक्रमितहरुको उपचार र अन्य ब्यवस्थापनमा खटिएका जनस्वास्थ्य अधिकृत “भान्जा“ दिनेश नेपाल, दाजु चिरञ्जीवी कट्टेल र म एकाबिहानै टुँडीखेलबाट हिँड्दै फिल्ड ट्रेनिङ सेन्टर तर्फ जाँदै थियौँ ।
जिल्ला समन्वय समिती अगाडिको घुम्तिको पिल्लरमा बसिरहेका उनी फुत्त झरे र कुनै सम्बोधन नगरीकन बिनम्र भाषामा उनले भने– “पत्रीका मिलाइदेउ न’ ।
“पत्रीका हैन तिमिलाई भोक लागेको होला अगाडिको होटेलमा खानेकुरा मागि दिन्छु खाउ है’ भान्जा दिनेशले भने । भन्जाको कुरा वास्ता गरेनन् उनले दोहो¥याएर “पत्रीका मिलाइदेउन’ भने ।
“पत्रीका छैन त्याँ गएर खानेकुरा खाउ, पैसा हामी तिरिदिउँला’ यति भनेर होटेलवाला राजन दाइलाई समेत भनिदिएर हामी आफ्नो काममा लाग्यौँ । ठुलोसिरुबारीमा मात्रै एकैचोटी ३२ पोजेटिभ अनि चौतारामा १२ जना थपिए भन्ने खबर आएकोले हामी डिटेल रिपोर्ट हेर्न भान्जा बस्ने कोठामा गाएका थियौं फर्किँदा उनी त्यही पिल्लरमा थिए, मैले “फोटो खिच्छु ल“ भनेँ उनले बसेकै ठाँउबाट मुस्कान सहितको पोज दिए । अनि झरेर फेरि पत्रीका मिलाइदिन आग्रह गरे ।
“तल आउनु है टुँडिखेलमा त्याँ छ पत्रीका“ मैले भनेँ ।
चिरन दाइ र म हिँड्दै तल मेरो कोठामा गयौँ, उनी पछिपछि आएछन् ।
हामी भित्र गयौँ, उनी बाहिर गेटमै उभिइरहे । मेरो कोठाभित्र केही अंक “लोकप्रिय दैनिक“ र “सर्बपक्ष दैनिक“ थियो । आजकाल चौतारामा साप्ताहिक पत्रीका प्रकाशन हुँदैन कि मैले नभेटेको हुँ, म संग थिएन । त्यै ल्याएर दिएँ । उनले लिन मानेनन् ।
“यो पत्रीकाको भाउ नै छैन, गोर्खापत्र र कान्तिपुर देउ न“ भने ।
“गोर्खापत्र र कान्तिपुर लिएर चैँ के गर्ने गर्नुहुन्छ?“
“बेच्छु“ उनले भने । “कति आउँछ पुराना पत्रीकाको“ सोधेँ । “नयाँको भन्दा धेरै आँउछ“ भने । मलाइ अक्क न बक्क बनाए । मैले भित्र गएर फेरि केही म्यागेजिन (किताब जस्तो पत्रीका) र ५० रुपैँया ल्याएर दिएँ ।
यसरी थोरै बोल्ने अनि गम्भीर कुरा गर्ने मान्छे “पागल“ रे ।
यिनी “पागल“ हुन् कि हैनन मैले छुट्याउन सकिनँ ।
उनले कहिल्यै कसैलाई नराम्रो गरेका बोलेका छैनन् भन्ने सुनेको छु । उनका धेरै कुरा त मलाई थाहा छैन । मलाइ यत्ती थाहा छ उनी माग्छन चोर्दैनन । उनी पुराना पत्रीका, पुराना कापी, क्यालेन्डर थोत्रा कलम माग्छन अनि त्यो बेचेर आएको पैसाले खानेकुरा किनेर खान्छन् । मान्छेहरुले उनका पत्रीका अनि थोत्रा सामान पढ्न वा प्रयोग गर्न किनेका हैनन । तैपनी उनी बेच्छन् ।
सायद त्यो पत्रीका बेचेर आएको पैसाले कपडा किन्न पुग्थ्यो भने उनी पनि सफा कपडा लगाउँथे होलान् । पेटी किन्ने पैसा आँउथ्यो भने एउटा हातले च्यातिएको पाइन्ट समातेर हिड्नुपर्ने थिएन होला । नयाँ झोला बोक्थे होलान् ।
आजकाल बजार बन्द छ, मान्छेहरुको चहलपहल अस्पताल र आइसोलेसन वरिपरि छ र सायद त्यसैले उनी पनि त्यतै बरालिएका हुनन् ।
आदरणीय दाई अमित घिमिरेको शब्द सापटी लिएर भन्दा “भुँइमान्छे“ हुन् यिनी ।
अँ साँच्ची, भुँईमान्छेहरुलाई कोरोना लाग्छ कि लाग्दैन होला? भुँईमान्छेहरुको पिसिआर हुन्छ कि हुँदैन होला? सेतो अनि सफा ओछ्यान भएको आइसोलेशन वार्डमा यी भुँइमान्छे बस्न मिल्छ कि मिल्दैन होला ?