कुविण्डे र कदमबासपछि कोरोनाको ‘रेड जोन’मा ठूलोसिरुवारी

बैशाख २६,
चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत साविक ठूलोसिरुवारी गाविस कोरोनाको दोस्रो लहरको रेड जोनमा परेको छ । एकै दिन ३२ संक्रमित यही गाउँमा भएपछि कुबिण्डे र कदमबासपछि यो गाउँ कोरोनाको उच्च जोखिममा परेको हो ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आउँदा ठूलो सिरुवारीमा मात्रै ३२ जना संक्रमित भए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो गाउँका ८७ जनाको स्वाब संकलन गरिएको थियो । नगरपालिकाका साविक १० गाविसका ४२ जनाको रिपोर्ट पोजेटिभ आउँदा ठूलोसिरुवारीमा मात्रै ३२ संक्रमित भएकाले यो गाउँ कोरोनामा रेड जोनमा परेको हो ।

पछिल्लो समय पोजेटिभ आएकाहरुको सम्पर्कमा रहेकाहरुको स्वाब लिइने हुँदा अझै बढ्ने अनुमान गरिएको छ । ठूलोसिरुवारीमा कसैलाई पनि घर बाहिर ननिस्कन स्थानीय जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । आफू संयमित भई सावधानी अपनाउन जनप्रतिनिधिहरुको अपिल गरेका छन् ।
शनिबार आएको रिपोर्टमा चौतारा साँगाचोकगढी नगरपालिकामा ४२, इन्द्रावती गाउँपालिकामा १४, लिसंखुपाखर गाउँपालिकामा ६, भोटेकोसी गाउँपालिकामा ३, बलेफी गाउँपालिकामा ३ र त्रिपुरासुन्दरी गाउँपालिकामा ३ गरि ७० जना कारोना भाइरस संक्रमित भएका हुन् ।
कोभिड १९ को दोस्रो भेरियन्ट आएसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भइसकेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।