
सिन्धुपाल्चोकमा भोली देखि निषेधाज्ञा, दुई वडामा शिल

बैशाख २२, चौतारा । सिन्धुपाल्चोक जिल्लामा भोली देखी निषेधाज्ञा जारी गरिने भएको छ ।
जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्र (डिसिसिएमसि) सिन्धुपाल्चोकको आज बसेको बैठकले सिन्धुपाल्चोक जिल्लालाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चोका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा सदरमुकाम चौतारामा बसेको बैठकले सिन्धुपाल्चोक जिल्लालाई निषेधाज्ञा तथा चौतारा साँगाचोकगढी नगरपालिकाका दुईवटा वडालाई शिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार पछिल्लो समय सिन्धुपाल्चोकका गाउँ गाउँमा समेत नयाँ कोभिडका संक्रमितहरु बढ्न थालेपछि जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका ४ नम्बर वडा कुबिण्डे तथा ९ नम्बर वडा कदमबासमा संक्रमितको संख्या ज्यादै देखिएपछि उक्त वडाहरुलाई शिल गरिएको जनस्वस्थ्य अधिकृत चापागाँईले जानकारी दिए ।
बैठकको निर्णय अनुसार विश्वभर फैलदै गएको नयाँ भेरिएन्टको (कोभिड–१९) संक्रमण सिन्धुपाल्चोक समेत फैलिएपछि अरनिको राजमार्ग सिन्धुपाल्चोकको बन्देउ देखि खाडीचौर–बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ वाँया ५ सय मिटर, खाडीचौर हुँदै ठूलोपाखर खण्डको मुँढे सम्मको ५ सय मिटर र जिरोकिलो हुँदै बाहुनेपाटी–सिपाघाट, मेलम्ची, शेरा, हेलम्बु र किउल सडक खण्डको दायाँ बाँया ५ सय मिटर निषेधाज्ञा गरिएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ४, ५ र ९ नम्बर वडाका सम्पूर्ण क्षेत्रहरु तथा मेलम्ची नगरपालिका ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफी देखी नौबिसे, ढाँँडे र कार्तिके सडक खण्डको ५ सय मिटर दायाँ वाँया निषेधाज्ञा जारी गरेको छ ।
यसैगरी बैठकले आदेशको पालना नगर्ने व्यक्तिलाई सक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कडा कारवाही गर्ने निर्णय गरेको छ ।
त्यस्तै चौतारा अस्पताल अन्र्तगत फिल्डट्रेनिङ सेन्टरमा २४ बेडको आईसोलेसन तथा ६ वेडको एचडियु कक्ष विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी जुगल गाउँपालिका–५ रत्नराज्य मावि चनौटेमा आईसोलेसन वार्डलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ ।
यसैगरी सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी कायम गर्न र एकै स्थानमा भेला भई भेला जुलुस, हाटबजार, भोज समारोह नगर्न समेत भनिएको छ ।
त्यसैगरी बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्नुको साथै यातायातका सम्पूर्ण सामाग्रीहरु बन्द गर्ने समेत निर्णय गरेको छ ।
त्यसैगरी अत्यावश्यक खाद्य सामाग्रीको हकमा बाहेक सम्पूर्ण कलखारखाना उद्योगधन्दा र होटल तथा रेष्टुराहरु समेत बन्द गर्ने निर्णय गरेको छ ।
स्मरण रहोस सिन्धुपाल्चोकमा एकसाताको बीचमा कोभिडका कारण ३ जनाको ज्यान जानुका साथै ३ सय भन्दा माथि नयाँ संक्रमित थपिएका छन् ।
यस्तो छ निर्णय